नवौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप सुरु 

नेपाल हाप्किडो सङ्घको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् तथा कर्णाली खेलकुद परिषद्को स्वीकृतिमा नवौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप आइतबार सुरु भयो । प्रतियोगिताको कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री वीर बहादुर शाहीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सन्जेल विशेष अतिथिको रूपमा उपस्थित थिए । यसै गरी कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल पनि कार्यक्रममा उपस्थित थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले कर्णाली प्रदेशमा राष्ट्रिय च्याम्पियनसिपको आयोजना हुनु प्रदेश खेलकुदकै लागि गर्वको विषय भएको बताएका छन् । नेपाल हाप्किडो सङ्घका अध्यक्ष तथा दक्षिण एसियाली हाप्किडो महासङ्घका अध्यक्ष काली बहादुर घर्ती मगरले सबै प्रदेशमा सक्रिय रूपले कार्यक्रम आयोजना गर्ने नीति अन्तरगत अहिले कर्णालीमा आयोजना भएको बताए ।  

कर्णाली प्रदेशको सुर्खेतमा हुने सो प्रतियोगितामा ५२ जिल्लाका खेलाडीको सहभागिता छ । यो च्याम्पियनसिपले नेपाली हप्किडोलाई नयाँ दिशा दिने विश्वास रहेको हाप्किडो सङ्घका मुख्य प्रशिक्षक प्रवीण गुरुङले बताए ।  क्युरोगी, होसिनसुल, हाइ फल, लङ फल र विपन टेक्निकमा प्रतिस्पर्धा हुने छन् । 

सङ्घको नियमित वार्षिक कार्यक्रम अनुसार च्याम्पियनसिप हुने लागेको हो । प्रत्येक संस्करण फरक प्रदेशमा आयोजना गर्ने नीति अनुसार नवौँ संस्करण कर्णालीमा हुने लागेको हो । 

शीर्ष तिन स्थान पाउने टोलीका साथै उत्कृष्ट महिला र पुरुष खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट प्रशिक्षक र रेफ्रीलाई पनि नगद पुरस्कार प्रदान गरिने छ । साथमा अनुशासित खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट जिल्ला र उत्कृष्ट स्कुल डोजाङलाई पनि सम्मानित गरिने छ । 

कर्णाली प्रदेशको विशेषतालाई देशव्यापी रूपमा परिचित गराउन  समेत यो प्रतियोगिता उपयोगी साबित हुने विश्वास स्थानीय आयोजक कर्णाली प्रदेश हाप्किडो सङ्घका अध्यक्ष गङ्गाराम तिमिल्सेनाको छ । पछिल्लो समय कर्णालीमा हाप्किडोको तीव्र विकास भइरहेको छ । 

Comment