आर्मी च्याम्पियन, महिलाका टिम स्पर्धामा एपिएफ अगाडी

नेपाल आर्मी छैटौँ राष्ट्रिय फेन्सिङ प्रतियोगितामा बुधवार टिम च्याम्पियन बनेको छ । आर्मीले ६ स्वर्ण, २ रजत र ५ कांस्य जित्यो । नेपाल फेन्सिङ सङ्घद्वारा आयोजित प्रतियोगितामा अर्को विभागीय टोली एपीएफ क्लब ५ स्वर्ण, ६ रजत र ५ कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको बागमती प्रदेशले १ स्वर्ण, १ रजत र ६ कांस्य हात पा¥यो । प्रतियोगितामा बागमती, गण्डकी, कोसी र सुदूरपश्चिम प्रदेश तथा विभागीय टोली आर्मी र एपीएफ गरी ६ टिमको सहभागिता रहेको थियो । बाँकी प्रदेशले स्वर्ण नजिते पनि पदकविहीन भने भएनन् । गण्डकी २ रजत र ४ कांस्य, सुदूरपश्चिमले १ रजत र ३ कांस्य तथा कोसीले १ कांस्य जिते ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा आर्मीका उपेन्द्र शाही र महिलामा एपीएफकी अनिता कार्की उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १० हजार रुपैयाँ पुरस्कार पाए । कार्कीले ३ स्वर्ण सहित ४ पदक जितिन् । इपे खेलाडी अनिताले साब्रेमा समेत व्यक्तिगत स्पर्धामा कास्य पदक जितेकी हुन् । साथै उनले अन्तिम दिन टिम साब्रेमा समेत टोलीलाई स्वर्ण दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिन् । महिलाको इपे, साब्रे र फोयल तीन वटै स्पर्धाका एपिएफ च्याम्पियन भयो ।  

विजेतालाई राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ, सदस्य अञ्जन धमला, आयोजक फेन्सिङ सङ्घका अध्यक्ष सुनिल श्रेष्ठलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । तीन दिने प्रतियोगितामा १ सय १२ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेको फेन्सिङ सङ्घका महासचिव सुजनलाल श्रेष्ठले जनाएका छन् ।

Comment