पलेशालाई सफलता

१२ वर्ष अघि कुवँर दाजुभाइको त्यो प्रयास


नेपाली तेक्वान्दोको सचिवालयमा कार्यरत यादव कुँवर एक्कासी रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका थिए । कुँवरको दक्षिण कोरिया बसाइ त्यति सुखद् रहेन । हातमा चोट बोकेर उनी नेपाल फर्किए । घटना सन् २०१२ को हो ।

नेपाल फर्किएपछि उनले भाइ कल्याण कुँवरसँग मिलेर पारा तेक्वान्दोको अवधारणा ल्याए । उनीहरूको साथमा जनार्दन ढुंगेल पनि थिए । नेपाली तेक्वान्दोको आन्तरिक विग्रहका कारण ढुंगेल केही समयमा नै मूलधारबाट टाढा भए । तथापि कुँवर दाजुभाइको अभियान भने कायम थियो । हातमा चोट बोकेका यादवले सन् २०१३ मा भएको चौथो विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य तथा त्यसको १ वर्षपछि भएको प्रतियोगिताको पाँचौँ संस्करणमा रजत पदक जिते ।

नेपाली खेलकुदका धेरै विधा विश्वस्तरीय प्रतियोगितामा सहभागिताका लागि मात्र प्रस्तुत भइरहेको समयमा पारा तेक्वान्दोले भने सार्थकता दिलाएको छ । त्यसैको उपज पेरिसमा जारी पारा ओलम्पिक (पारालिम्पिक) मा नेपालले कास्य पदक जितेको छ । नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनले पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक जितेकी हुन् । के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा शुक्रबार भएको प्रतिस्पर्धामा सर्बियाकी मारिजा मिचेभलाई १५–८ ले हराउँदै पलेशाले कास्य पदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

सेमिफाइनलमा पलेशा शीर्ष वरीयताकी खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०–८ ले पराजित भएकी थिइन् । उनले क्वार्टरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० को फराकिलो अन्तरमा पराजित गरेकी थिइन् । दोस्रो चरणमा पराजित भएका कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । रिपाचेजमा फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले पराजित गर्दै उनी कास्य नजिक पुगेकी थिइन् ।

गत चैतमा चीनको ताइवानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्ण जितेकी थिइन् । उनी चीनमा भएको १९औँ एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन् ।

नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारालिम्पिकमा सहभागिता जनाउन थालेको हो । १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । त्यसयता उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छिन् ।

पारा तेक्वान्दो, जोर्डनमा २०१९ मा भएको पाँचौँ एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालिम्पिक गेम्सको टेस्ट इभेन्टमा पाँचौँ स्थान हासिल गरेकी थिइन् । यसैगरी सन् २०१९ मा टर्कीमा भएको आठौँ विश्व पारा तेक्वान्दोमा नवौँ स्थान हासिल गरेकी पलेशाले साउदी अरेबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् । सन् २०१६ मा सीता भण्डारीले पोल्यान्डमा भएको ओपन पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जितेकी थिइन् । सीता अहिले पारा तेक्वान्दोबाट टाढा छिन् । सीतापछि रञ्जना धामीले देशलाई केही सफलता दिलाएकी थिइन् ।

नेपाली तेक्वान्दो अहिले विग्रहको अवस्थामा छ । विगतमा योगदान दिने र उपलब्धि पाउनेहरूका पनि थुप्रै गुनासो सुनिएको छ । परन्तु अहिलेको पलेशाको सफलताको कथा १२ वर्षअघि कुँवर दाजुभाइको सोचको उपज भएको भने नकार्न सकिँदैन । अहिले यी दाजुभाइ विदेशमै छन् ।

६५ लाख रुपैयाँ पुरस्कार पाउने

यसैबीच, पेरिसमा पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक जिताएकी पलेशा गोवद्र्धनले ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छिन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ ले व्यवस्था गरेअनुसार पलेशाले सो रकम पुरस्कारस्वरूप पाउने भएकी हुन् ।

नियमावलीमा व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल÷गृष्मकालीन÷ शीतकालीन÷पारा÷विशेष तथा र विश्वकप फुटबलमा कास्य पदक जित्ने खेलाडीलाई ६५ लाख रुपैयाँ पुरस्कार दिइने उल्लेख छ । पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख ८५ हजार र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार पुरस्कार पाउनेछन् । नियमावलीले ओलम्पिकमा व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीलाई १ करोड ३० लाख र रजत पदक जित्ने खेलाडीलाई ९७ लाख नगद पुरस्कार दिने व्यवस्था गरेको छ ।

पलेशालाई बधाईको ओइरो

पेरिस पारालिम्पिक २०२४ अन्तर्गतको के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले कास्य पदक जितेसँगै उच्च पदस्थदेखि खेल क्षेत्रका विभिन्न व्यक्तिहरूले बधाई दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सञ्जालमार्फत् ऐतिहासिक कास्य पदक विजेता गोवद्र्धनलाई बधाई दिएका छन् । ‘फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्शाएकी पलेशाले जितेको कास्य पदक नेपाल र नेपालीका लागि गर्वको विषय हो,’ उनले भनेका छन् ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने पलेशालाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत गोवधर्नलाई बधाई दिएका हुन् ।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पलेशाले पारालिम्पिकमा ऐतिहासिक कास्य पदक हात पारेकामा बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत् नै उनले पारालिम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदकका लागि बधाई भनेका छन् ।

‘नेपालकी पलेशा गोवद्र्धनले पारालिम्पिक खेलकुदमा पदक जित्ने हिमाली एसियाली राष्ट्रबाट पहिलो खेलाडी बनेर इतिहास रचेकी छिन्,’ उनले भनेका छन्, ‘पलेशालाई यस उल्लेखनीय उपलब्धिका लागि बधाई छ, जसले सम्पूर्ण नेपालीहरूलाई गौरवान्वित बनाएको छ ।’

Comment