शान्तिले जितिन् उपाधि

हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीद्वारा शुक्रवार आयोजित ‘हिमालयन तीज चेस टोर्नी’ को उपाधि शान्ति धिमालले जितेकी छन् । उनले प्रतियोगितामा शतप्रतिशत जित हासिल गर्दै ट्रफी कब्जा गरेकी हुन् ।
स्विस प्रणालीको आधारमा पाँच चरणमा सञ्चालित र्यापिड चेसमा १६५७ रेटिङकी शान्ति पहिलो चरणमा प्रियंशा प्रधान, त्यसपछि इशा कोइराला पौडेल, अनैया सैंजु, निहाना श्रेष्ठ र एन्जल महर्जनलाई पराजित गर्दै सर्वाधिक ५ अङ्कसहित च्याम्पियन भएकी हुन् ।
शान्तिले तीज चेस टोर्नीमा उपाधि होडको निर्णायक पाँचौँ चरणमा १६४६ रेटिङकी एन्जललाई पराजित गर्दै सफलता हासिल गरेकी हुन् । निहाना श्रेष्ठ ४ अङ्कसहित उपविजेता भइन् । समान ४ अङ्क भए पनि निहानासँग ‘बुबल्स’मा पछाडि परेपछि अनैया संजु तेस्रो भइन् । निहाना र अनैयाले एक मात्र हार शान्तिसँगको खेलमा बेहोरेकी थिइन् ।

हिमालयन चेस एकेडेमीको थापाथलीस्थित चेस हलमा आयोजित प्रतियोगितामा यु–१५ मा प्रज्ञा पन्त (४ अङ्क), यु–१३ मा एन्जल महर्जन (४ अङ्क), यु–११ मा नायुमा मगर (४ अङ्क), यु–९ मा प्रज्ञा तुलाधर (३ अङ्क) र यु–७ मा चार्वी खेम्का (३.५ अङ्क) प्रथम भए । उनीहरू सबै हिमालयन चेस एकेडेमीका खेलाडी हुन् । ५० वर्षमाथिको भेट्रानतर्फ राधा राई २ं५ अङ्क बटुल्दै पहिलो भइन् ।
प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान अन्जिला तुम्बापो सुब्बा, मिडफिल्डर प्रीति राई लगायत ३१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको प्राविधिक पक्ष पनि महिलाले नै सम्हालेका थिए ।
एकेडेमीकी संस्थापक मोनालिसा खम्बू, प्यारालिम्पिक २०२४ मा ऐतिहासिक कांस्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनका प्रशिक्षक कविराज नेगी लामा, परराष्ट्र मन्त्रालयकी अधिकृत प्रतिज्ञा राईले विजेताहरूलाई पुरस्कार तथा पदक प्रदान गरे । गत चैत १ गते उद्घाटन गरिएको हिमालयन चेस एकेडेमीले नियमित रूपमा ७३ जना बालबालिकालाई चेस ट्रेनिङ दिइरहेको छ । उसले आयोजना गरेको तेस्रो प्रतियोगिता हो तीज चेस टोर्नी । उसले यसअघि एसइई कप र हिमालयन १०० सफलतापूर्वक आयोजना गरेको थियो ।