ओमानसँग नेपालको हार

आइसिसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी रहँदा ९ विकेटको क्षतीमा पुरा गरेको हो । नेपाल पराजित भएको खेलमा ओमानविरुद्ध आक्रामक ब्याटिङ र बलिङ गरेका गुल्सन झा प्लेयर अफ द म्याच बने । उनले ब्याटिङतर्फ ३५ बलको सामना गर्दा ५ छक्का र ३ चौकाको मद्दतमा ५३ रन जोडे भने बलिङतर्फ ५ विकेट लिए । उनले १० ओभर बलिङ गर्दा दुई मेडनसहित ४७ रन दिएर ५ विकेट लिएका हुन् । 

क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्डमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । ओपनिङ कमजोर देखिएको नेपालको मध्य क्रम सम्हालिएर पूरै ५० ओभर खेल्दा सम्मानजनक योगफल खडा गरेको थियो । नेपालका लागि कप्तान रोहित पौडेल र गुल्सन झाले अर्ध शतक बनाए । कप्तान पौडेलले ७२ बलको सामना गर्दै चार छक्का र दुई चौकाको मद्दतमा ६० रन बनाउँदा गुल्सनले ३५ बलको सामना गर्दा ५३ रन जोडेका थिए ।

नेपालका लागि सम्हालिएर खेलेका आरिफ शेखले ८८ बलको सामना गर्दै ३५ रन बनाए । कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल बेन्चमा रहेको खेलमा अर्जुन साउद, आरिफ शेख र अनिल शाहले खेल्ने मौका पाएका थिए ।

गुल्सनले ५ विकेट लिएको खेलमा नेपालका लागि करण केसीले दुई विकेट लिए । सन्दीप लामिछाने र आरिफ शेखले समान एकएक विकेट हात पारे। क्यानडामा जारी सिरिजको यो शृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो ।

Comment