पुण्यमानलाई भेट्रान चेस उपाधि 

पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमान कमाचार्यले प्रथम एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ मेमोरियल भेट्रान चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । ७ चरणको खेलमा उनले ५.५ अङ्क जोडे । समान अङ्क भएका बद्रीलाल नेपाली दोस्रो, गणेश मान दुवाल तेस्रो र नवीन तण्डुकार टाइब्रेकको आधारमा दोस्रो देखि चौथो भए । 

५ अङ्क भएका पूर्णराज खड्का पाँचौँ, विलम लाल श्रेष्ठ छैटौँ, राजेन्द्र बज्राचार्य सातौँ, जनार्दन श्रेष्ठ आठौँ, भीम दत्त पाण्डे नवौँ तथा अविरल राई दशौँ भए ।

उपाधि विजेता कमाचार्यले ३० हजार रुपैयाँ तथा उप विजयी नेपालीले २० हजार तथा तेस्रो हुने दुवालले १५ हजार रुपैयाँ पुरस्कार पाए । चौथो हुने खेलाडीले १० हजार तथा पाँचौँ हुने खेलाडीले ७ हजार रुपैयाँ पुरस्कार पाए । छैटौँ देखि १० औ स्थान हात पार्ने खेलाडीले ५ हजार रुपैयाँ पुरस्कार पाए ।  

विजेता खेलाडीहरूलाई पूर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले पुरस्कार वितरण गरे । समापन कार्यक्रममा अखिल नेपाल खेलकुद महासङ्घका महासचिव तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला विशेष अतिथि थिए । यसै गरी, नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जन, पूर्व अध्यक्ष विदुर गौतम, समाजसेवी सावित्री अधिकारी, दिवंगत श्रेष्ठका आमा लक्ष्मी श्रेष्ठ तथा धर्मपत्नी सङ्गीता श्रेष्ठ, बुद्धिचाल महासङ्घका उप महासचिव मोनालिसा खुम्बु र अखिल नेपाल बुद्धिचाल सङ्घका प्रदेश अध्यक्षहरूको उपस्थिति थियो ।  

समापन समारोहको  कार्यक्रमको सञ्चालन आयोजक कमिटीका सदस्य तथा नेपाल बुद्धिचाल महासङ्घका सदस्य बबी देवल पुनले गरेका थिए । प्रतियोगिताको खेल सञ्चालन मुख्य निर्णायक अन्तर्राष्ट्रिय आर्बीटर ज्ञानेन्द्र खाइजुको नेतृत्वमा रहेको प्राविधिक टोलीले गरेको हो । 

स्विस लिग प्रणालीमा २ दिन सञ्चालित प्रतियोगितामा ४२ जनाको सहभागिता थियो । दिवंगत श्रेष्ठ एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ  नेपाल बुद्धिचाल सङ्घका पूर्व उपाध्यक्ष हुन् । उनकै प्रयासमा नेपालमा पहिलो पटक फिडे रेटिङ प्रतियोगिता भएको थियो । नेपालको पायनियर चेस क्लब मखन चेस क्लबको विकासमा ठुलो भूमिका रहेका श्रेष्ठ ओलम्पियाड खेलाडी समेत हुन् । 

नेपाली चेसलाई नयाँ स्वरूप र संरचनामा परिणत गर्ने सोच भएका उनकै पहलमा मखनमा चेस एकेडेमी पनि सञ्चालन भएको थियो । सोही एकेडेमीमा प्रशिक्षण गरेकी तारा घले नेपालको पूर्व महिला राष्ट्रिय च्याम्पियन समेत हुन् । नेपालमा भएको पहिलो राष्ट्रिय टिम च्याम्पियनसिपमा सुजेन्द्र सहितको मखन चेस क्लब पहिलो भएको थियो भने उनी आफ्नो बोर्डका उत्कृष्ट खेलाडी घोषित भएका थिए । 

Comment