एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४


नेपाली महिला तथा पुरुष टोलीको घोषणा

काठमाडौं, असोज १३ । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा सहभागिता जनाउने नेपाली टोलीको घोषणा भएको छ । एसिया रग्बी आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता हुन लागेको हो । सोही प्रतियोगिताका लागि संघले आइतबार महिला र पुरुष टोलीको घोषणा गरेको हो ।

महिलातर्फ आशा कुँसार, पुनम भुजेल श्रेष्ठ, सुस्मिता क्षेत्री, अनु शेर्पा, विशाखा मार्किन राई, रोजिना पोखरेल, विनीता शाही ठकुरी, सुजा राई, मनीषा थापामगर, कमला राई र सिर्जना राई टोलीमा परेका छन् । 

संगिता घिसिङ, सावित्री पुर्जा, सिर्जना छन्त्याल र अप्सरा कार्कीलाई भने वैकल्पिकमा राखिएको छ । पुरुषतर्फ विवेश बासु, सविन महत, क्याल्भिन जोशी, विराट श्रेष्ठ, यदु अधिकारी, निरोज कार्की, विक्रम पुरी, नवीनबहादुर मगर, गणेश बानियाँ, रोहन डंगोल, विजय खड्का र कपिल ठकुरी टोलीमा समेटिएका छन् । विनोदबहादुर शाही, मशेष सुनार, सञ्जय अधिकारी र प्रमेश चौधरीलाई भने वैकल्पिकमा राखिएको छ । प्रतियोगितामा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालमा एसियाली स्तरको सिनियर रग्बी प्रतियोगिता हुन लागेको यो पहिलोपल्ट हो । यस प्रतियोगिताका लागि नेपाली महिला तथा पुरुष टोलीले पछिल्लो तीन महिनादेखि पोखरामा तयारी गरिरहेको थियो ।

प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् ।

यो प्रतियोगिता २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटको रूपमा समेत रहेको छ । प्रतियोगिताको विजेताले २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन् । कार्यक्रमको उद्घाटन सम्भवतः अमेरिकाबाट फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी रहेको नेपाल रग्बी संघले जनाएको छ ।

Comment