अजल, सिताराम र पद्मको सम्मान

१२ औ एनएसए पौडी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कुल ७० स्पर्धामा २८३ खेलाडी सहभागी थिए । प्रतियोगितामा अजल काजी श्रेष्ठ वर्षको उत्कृष्ट खेलाडी घोषित भए । यस बापत उनले २५ हजार रुपैयाँ प्राप्त गरे । ताम्रकारले ५० मिटर बटरफ्लाईमा आफ्नो नाममा रहेको पुरानो राष्ट्रिय कीर्तिमान भङ्ग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे ।

प्रतियोगिताको समापनको अवसरमा नेपालको तर्फबाट ओलम्पिकमा सहभागिता जनाउने प्रथम पौडीबाज सिताराम शाहीलाई २५ हजार रुपैयाँ सहित सम्मान गरियो । शाहीले सन् १९९६ मा एटलान्टामा भएको ओलम्पिक खेलमा सहभागिता जनाएका थिए । सोही कार्यक्रममा नेपालका सिनियर लाइफ गार्ड पद्म जङ्ग शाहलाई पनि सम्मान गरियो ।

नेपाली पौडीमा अतुलनीय योगदान गरे बापत उनलाई सम्मान गरियो । प्रत्येक स्पर्धामा उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई ५ हजार रुपैयाँ सहित सम्मान गरियो ।

८ वैशाखमा जगतमान श्रेष्ठको नेतृत्वमा निर्वाचित यस संघले नेपाली पौडीको विकासमा आफूलाई समर्पित गर्दै नयाँ र सृजनशील परियोजनाको सोच बनाएको छ ।
