नेसनल स्पोर्ट्स एसोसिएसनको उठायो आवाज

खेलाडी, खेल, प्रशिक्षक तथा खेलकर्मीहरूको पेसागत र सङ्घहरूको संस्थागत हकहितका लागि भन्दै नेसनल स्पोर्टस् एसोसिएसन गठन गरिएको छ । महासङ्घको स्वरूपमा रहेको सो संस्थाले शुक्रवार नेपाल तेक्वान्दो सङ्घको भवनमा पहिलो पत्रकार सम्मेलनको आयोजन गरेको छ । 

सो पत्रकार सम्मेलन मार्फत केही महत्त्वपूर्ण विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ ।   राष्ट्रिय खेलकुद परिषद्मा रिक्त रहेका पदाधिकारी तथा सदस्यहरू यथाशीघ्र नियुक्तिको माग गरिएको छ । साथै राष्ट्रिय खेलकुद विकास ऐनको २०७७ को दफा ३ (२) ढ बमोजिम राष्ट्रिय खेल सङ्घहरूको प्रतिनिधि हुने सदस्य पदका नियुक्तिहरू विगतमा व्यक्तिगत पहुँचको आधारमा नियुक्ति हुने गरेकोमा अब सो मनोनयन हामी राष्ट्रिय खेल सङ्घहरूको संस्थागत सिफारिसमा गर्नका लागि माग गरिएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना सम्बन्धी बनेको निर्देशिका उपर सरोकारवालाहरुसंग छलफल र सुझाव लिई पारितको माग पनि गरिएको छ । कर्णाली प्रदेशमा आयोजना हुने भनिएको १० औँ राष्ट्रिय खेलकुदको मिति र खेलगत प्रतियोगिता स्थल तोक्ने कार्य सरोकारवाला खेल सङ्घहरू सँगको छलफल र परामर्शमा यथाशीघ्र घोषणाको माग गरिएको छ । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई आर्थिक अपचलन र भ्रष्टाचार रहित बनाउन माग गरिएको छ । 

खेलाडीहरूलाई उपलब्ध गराउने खेल पोसाक र खेल सामाग्रीहरूको गुणस्तरको परीक्षण होस र खेलाडीहरूको खानपिन र आवासको उचित व्यवस्थाको माग गरिएको छ । भौगोलिक र प्राविधिक दृष्टिकोणले कर्णाली खेल स्थलको उचाइ सँग अन्य सहभागी हुने प्रदेशको भूभागको बनावट र वातावरण फरक हुनेभएकोले त्यस्ता प्रदेशका खेलाडीहरूलाई कम्तीमा पनि ३ देखि ४ दिन अघि नै खेल स्थलमा पुग्न आवश्यक ठहर गर्दै त्यसको व्यवस्था गर्न माग गरिएको छ । सो एसोसिएसनको अध्यक्षमा नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाश समसेर राणा छन् । 

Comment