सुदूर पश्चिमलाई हराउँदै जनकपुरले जित्यो एनपिएल
प्रारम्भिक ब्याट्सम्यान लाहिरू मिलन्थाले उत्कृष्ट ब्याटिङ गरेपछि जनकपुर बोल्ट्स सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिवार भएको उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गरेको हो ।
सुदूरपश्चिमले दिएको १८५ रनको विशाल लक्ष्य जनकपुरले विकेटको ५ क्षतिमा ४ बल बाँकी रहँदा पुरा गरेको हो । जनकपुरको जितमा श्रीलंकन मूलका अमेरिकी विकेटकिपर ब्याट्सम्यान लाहिरू मिलन्थाले उत्कृष्ट ब्याटिङ गरे । उनले ४९ बलमा ८७ रन जोडेपछि जनकपुरका लागि लक्ष्य भेट्टाउन सहज भएको हो । १६औँ ओभरको तेस्रो बलमा सुदूरपश्चिमका स्कट कुगेलेइनको बलमा क्याच हुनुअघि उनले ९ चौका र ४ छक्का प्रहार गरे ।
जनकपुरले उत्कृष्ट सुरुवात गर्न सफल भएको थियो । जनकपुरले ६ ओभरको पावर प्लेमा ७१ रन जोडेको थियो । कप्तान आसिफ शेख सातौँ ओभरको अन्तिम बलमा ३३ रन बनाउँदा सइफ जइबको बलमा क्याच आउट भए । १९ बलमा ४ चौका र २ छक्का प्रहार गरेका आसिफले पहिलो विकेटका लागि ओपनर लाहिरू मिलान्थासँग ७ ओभरमा ७३ रनको साझेदारी गरेका थिए ।
दसौँ ओभरमा १०० रन पूरा गरे लगत्तै जनकपुरले दोस्रो विकेट गुमाएको थियो । दसौँ ओभरको अन्तिम बलमा मोहम्मद मोहसिन ८ बलमा ९ रन जोडेर आउट भए । मोहसिनले मिलन्थासँग दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गरेका थिए ।
मिलन्थाले १२औँ ओभरको पहिलो बलमा जीवनदान पाएका थिए । ६५ रन बनाएर खेलिरहेको बेला उनको क्याच लिन सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी चुकेका थिए । लगत्तैको बलमा हर्ष थाकरले दीपेन्द्रलाई छक्का प्रहार गरेका थिए ।
मिलन्थाले तेस्रो विकेटका लागि हर्ष थाकरसँग ५९ रनको साझेदारी गरेका थिए । प्रतियोगिताका धेरै खेलमा छाएका जनकपुरका जिमी निशम भने ४ रनमै सुदूरपश्चिमका कप्तान ऐरीबाट १७औँ ओभरमा बोल्ड भए । १९औँ ओभरमा जइबले २ रन मात्र खर्चिए पछि जनकपुरले सफलता पाउन अन्तिम ओभरसम्म पर्खनु परेको थियो । सुदूरपश्चिमका कुगेलेइन, ऐरी, पाण्डे र जइबले एक एक विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ओपनर सबफ जइबको अर्धसत्तकको मद्दतमा ९ विकेटको क्षतिमा १८४ रन जोडेको थियो । जइबले ६९ रनको योगदान गरे । उनले ४३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । जइबले ६४ रन बनाएर खेलिरहँदा १२औँ ओभरको दोस्रो बलमा जीवनदान पाए । जनकपुरका किशोर महतोको बलमा शेर मल्लले क्याच लिन खोज्दा हातबाट बल छुटेको थियो । २ बलपछि पनि जीवनदान पाएका उनी सोही ओभरको अन्तिम बलमा उनी ललित राजवंशीको हातबाट समातिए ।
जबइले पहिलो विकेटका लागि विनोद भण्डारीसँग १२ ओभरमा ११७ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले उत्कृष्ट सुरुवात गरेको थियो । त्यस पछि नै जनकपुर खेलमा फर्किएको थियो । अर्को ओभरको दोस्रो बलमा ललितले भण्डारीलाई बोल्ड गरे । आउट हुनुअघि भण्डारीले ३१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ४१ रन जोडे ।
बलिङ र फिल्डिङमा फर्किएको जनकपुरले १५औँ ओभरको अन्तिम बलमा तेस्रो सफलता पाएको थियो । जनकपुरका मोहम्मद मोहसिनले हर्मित सिंहलाई १४ रनमा आउट गरे । जनकपुरका सब्सिच्युट फिल्डर हेमन्त धामीले उत्कृष्ट क्याच लिएका थिए । यस पछि सुदूर पश्चिमको ओरालो यात्रा सुरु भएको थियो ।
ब्रान्डन माक्मलेन पनि १४ रनमा आउट भए भने कप्तान दीपेन्द्रसिंह ऐरी ९ रनमा सीमित भए । अन्तिम ओभरको पहिलो बलमा आउट भएका कुगेलेइनले १० बलमा २ चौका प्रहार गर्दै १३ रन जोडे । सुदूरपश्चिमले पछिल्लो पाँच ओभरमा ६ विकेट गुमाउँदा ४१ रन मात्र जोडेको थियो । सोही टोलीले पहिलो दश ओभरमा विना विकेटको क्षतिमा ९७ रन जोडेको थियो ।
जनकपुरका मोहसिन र किशोरले ३–३ विकेट लिए । मोहसिनले ४ ओभरमा ४० रन खर्चिदा किशोरले ३ ओभरमा २५ रन दिए । जिमी निशम र ललित राजवंशीले १–१ विकेट आफ्नो नाममा लेखाए ।
मिलान्था देखि मिलान्था सम्म
यस एनपिएलको पहिलो खेलमा जनकपुरले विराटनगर किङ्सलाई ८ विकेटले हराएको थियो । सो खेलमा १२८ रनको लक्ष्य पाएको जनकपुरले १५दशमलव ३ ओभरमा खेल आफ्नो पक्षमा पारी सकेको थियो । सो खेलमा पनि मिलन्थाले अविजित रहँदै ५३ बलमा ७५ रन प्रहार गरेका थिए । उनले हर्ष थाकरसँग मिलेर तेस्रो विकेटका लागि अविजित ११६ रनको साझेदारी गरेका थिए ।
सो खेलमा थाकरले पनि २९ रन जोडेका थिए । फाइनलमा पनि यी २ ले तेस्रो विकेटका लागि ६१ रनको साझेदारी गरे । यस खेलमा पनि थाकर २४ बलमा ३० रन जोड्दे अविजित रहे ।
नेपालका सफल प्रशिक्षक एनपिएलमा पनि सफल
जनकपुरको प्रशिक्षण पूर्व नेपाली प्रशिक्षक पुबुदु दासनायकेले गरेका थिए । नेपाललाई पहिलो पटक टी २० विश्वकपमा पु¥याउने मुख्य प्रशिक्षक दासनायके अहिले क्यानडा क्रिकेटको मुख्य प्रशिक्षकका रूपमा आबद्ध छन् ।
उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा टी २० विश्वकप खेलेको थियो । २०११ मा दासनायके नेपालका प्रशिक्षक भएका थिए । सन् २०१४ मा उनको अवधि सकिए पनि सोही वर्ष भएको टी २० विश्वकपमा प्रवेश तथा अफगानिस्तान माथिको जितको कारण उनको अवधि थप गरिएको थियो । सन् २०१५ मा उनले प्रशिक्षक पदबाट राजीनामा दिएका थिए ।
२०१६ मा अमेरिकाका प्रशिक्षक भएका उनी २०१९ मा फेरी नेपाल फर्किएका थिए । सन् २०२२ उनले नेपालको प्रशिक्षक पदबाट राजीनामा दिएका थिए ।