ग्लोबल आइएमई बैङ्कको १८औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना
ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आइएमई बैङ्क १८ पौष देखि स्थापनाको १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैङ्कले मुलुकका सात वटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमका साथ–साथै निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमअन्तर्गत, कोसी प्रदेशको तीन पैनी शाखा, मधेस प्रदेशको जनकपुर शाखा, बाग्मती प्रदेशको कान्ति पथ शाखा र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको मिलन चोक बुटवल शाखा र नेपालगन्ज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा ७५७ रक्तदाताहरूले रक्तदान गरेका छन् । यसै गरी, ११९ जनाको आँखा जाँच गरिनुका साथै २०० जनाको रक्तचाप तथा मधुमेहको परीक्षण गरी आवश्यक परामर्श प्रदान गरिएको छ ।
बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाज उपयोगी कार्यहरूमार्फत आम जनमानसलाई प्रत्यक्षता लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको वेस्ट बैङ्क अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क होे । साथै, ग्लोबल आइएमई बैङ्क विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३५५ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।