किंग्स क्रिकेट एकेडेमीलाई स्युचाटार क्रिकेट लिगको उपाधि  

स्युचाटार क्रिकेट लिग इनडोर टी–टेन क्रिकेट प्रतियोगिताको उपाधि किंग्स क्रिकेट एकेडेमीले जितेको छ । काठमाडौँ स्युचाटार स्थित तारकेश्वर क्रिकेट क्लबको इनडोर मैदानमा आज सम्पन्न फाइनलमा किंग्सले ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै उपाधि जित्यो । 

उपाधि जित्न ५९ रनको लक्ष्य पाएको किंग्सले ९.. दशमलव २ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । किंग्सका ओपनर आश्रय बस्नेतले सर्वाधिक २६ रन बनाए जो प्लेयर अफ द फाइनल पनि घोषित भए । यस्तै प्रदीप चन्दले १७, प्रसिद्ध श्रेष्ठले अविजित ८ तथा नरेन्द्र चन्दले अविजित ६ रन बनाए । ओपनर द्वय आश्रय र प्रदीपले ४० रनको साझेदारी गर्दै जितको आधार तयार गरे। ग्रेट हिमालयका नितेश कुमार र सन्दीप पराजुलीले १÷१ विकेट लिए । 

यस अघि टस जितेर ब्याटिङ गरेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले निर्धारित १० ओभरमा ५ विकेट क्षतीमा ५८ रन बनायो । ग्रेट हिमालयका लागि सक्षम बस्ताकोटीले सर्वाधिक १७ रन बनाए । रुपेश श्री वास्तवले १२, सरोज खत्रीले अविजित ९ रन बनाए । किंग्सको बलिङमा आश्रय अधिकारी र प्रसिद्ध श्रेष्ठले १÷१ विकेट लिए । 

उपाधि सहित किंग्स क्रिकेट एकेडेमीले १ लाख रुपैयाँ पायो । उपविजेता ग्रेट हिमालयले ४० हजार रुपैयाँ पायो। प्लेयर अफ द सिरिज घोषित टिम विडिएमएसका नीरज भट्ट घोषित भए । उनले १० हजार रुपैयाँ पाए । यस्तै उत्कृष्ट बलर पनि नीरज नै घोषित भए भने उत्कृष्ट ब्याटर टिम विडिएमएसका जतिन थापा घोषित भए। उत्कृष्ट ब्याटर र बलरले समान ५ हजार रुपैयाँ पाए । उपाधि विजेता खेलाडीहरूलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य ध्यान गोविन्द रञ्जितले पुरस्कार प्रदान गरे । पुरस्कार वितरण समारोहमा ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ, नेपाली काँग्रेसका केन्द्रीय सदस्य नानु बास्तोला, नेपाली काँग्रेसका नेता श्याम कृष्ण खड्का लगायतको उपस्थिति रहेको थियो । 

तारकेश्वर यूथ क्लबको आयोजनामा ८ दिन सञ्चालित प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो। समापन कार्यक्रममा बोल्दै प्रतियोगिताका निर्देशक सञ्जय अधिकारीले प्रतियोगिता उत्साहजनक रूपमा सम्पन्न भएको र आगामी वर्ष यो भन्दा अझ भव्य बनाउने वचनबद्धता व्यक्त गरे । 

Comment