यादव नेतृत्वको भारतीय टोलीमा अटाएनन् पन्त र बुमराह
भारतले इङ्गल्यान्डविरुद्ध हुने ५ खेलको टी २० शृङ्खलाका लागि टोलीको घोषणा गरेको छ । सन् २०२३ को एक दिवसीय विश्वकप पछि मोहम्मद सामी पहिलो पटक टोलीमा फर्केका छन् । सन् २०२४ को टी २० विश्वकप विजयी टोलीका विकेट किपर ऋषभ पन्त भने टोलीमा छैनन् । सञ्जु सामसन र ध्रुव जुरेल टोलीमा छन् ।
२२ जनवरीमा पहिलो खेल कोलकातामा हुने सो टी २० शृङ्खलाका लागि भारतीय छनोटकर्ताहरूले सूर्य कुमार यादवको नेतृत्वमा टोलीको छनोट गरेका हुन् । एक दिवसीय शृङ्खला तथा अर्को महिना हुने च्याम्पियन्स ट्रफीका लागि टोलीको घोषणा गरेका छैनन् । च्याम्पियन्स ट्रफीका लागि अन्तिम टोली घोषणाको मिति १२ जनवरी नै हो ।
अस्ट्रेलियासँगको अन्तिम टेस्टको दौरान हातमा चोट बोकेका जसप्रित बुमराह पनि टोलीमा छैनन् । पाखुराको चोटसँग सङ्घर्ष गरी रहेका ब्याटिङ अलराउण्डर रियान पराग पनि टोलीमा छैनन् । यसश्वी जयसवाल र शुभमन गिललाई पनि आराम दिइएको छ ।
नोभेम्बरमा दक्षिण अफ्रिकासँग ३–१ को सफलता पाएको टोलीमा रहेका रमन दीप सिंह, जितेस शर्मा, अभेष खान, यस दयाल र विजय कुमार वयस्क यस पटक टोलीमा छैनन् । अस्ट्रेलिया भ्रमणको दौरान टोलीमा रहेका नितिस कुमार रेड्डी, वासिङ्टन सुन्दर, हर्षित राना र ध्रुव जुरेलले उनीहरूलाई प्रतिस्थापन गरेका हुन् ।
भारतीय क्रिकेट बोर्डले अक्षर पटेललाई उप कप्तान घोषित गरेको छ । यस अघि बङ्गलादेश र श्रीलंकासँगको शृङ्खलामा उप कप्तान चयन गरिएको थिएन भने जुलाईमा श्रीकलासँग भएको शृङ्खलाका लागि गिलले उपकप्तानको जिम्मेवारी पाएका थिए ।
२२ जनवरी देखि २ फेब्रुअरीको बिचमा कोलकाता, चेन्नाइ, राजकोट, मुम्बई र पुनेमा खेल हुँदै छ । त्यस पछि ६ फेब्रुअरीमा नागपुर, ९ मा कटक तथा १२ मा अहमदाबादमा एक दिवसीय खेल हुने छ । १९ फेब्रुअरीमा च्याम्पियन्स ट्रफी सुरु हुँदै छ ।
भारतीय टोली
सूर्य कुमार यादव( कप्तान),सञ्जु सामसन, ( विकेट किपर),अभिषेक शर्मा, तिलक बर्मा, नितिस कुमार रेड्डी, मोहम्मद सामी, आर्सदिप सिंह, हर्षित राना, ध्रुव जुरेल( विकेट किपर), रिंकु सिंह, हार्दिक पाण्डे, अक्षर पटेल, रवि विस्नोइ, वरुण चक्रवर्ती र वासिङ्टन सुन्दर