सरिला भन्छिन्, ‘ टिम भावनाले यो सफलता पाइएको हो,’

Manoj Shiama
21 January, 2025 12:12 pm

अङ्ग्रेजी नयाँ वर्ष २०२५ को सुरुवात देखि नै भएको महिला सुपर लिग फुटबलका प्ले अफ खेलहरू बाँकी छन् । त्यसो त यस  पछिल्लो समय नेपाली महिला फुटबलका लागि स्वर्णिम समय पनि हो । ‘ खेलाडी, टिम, व्यवस्थापन जिम्मेवारीमा रहनु भएका सबै व्यक्ति अनि हाम्रो साथमा रहनु भएका प्रशिक्षक तथा प्राविधिकहरूका कारण यो सफलता पाएका हौ ,’ एन्फाकी महिला विभागकी प्रमुख सरिला श्रेष्ठले भनिन् । 

अहिलेको कार्य समिति नेतृत्वमा आएको ३ वर्ष भएको छ । महिला फुटबलरको बढेको पारिश्रमिक, बढेको सामाजिक क्रेज तथा प्रायोजकहरूको चासो सबै पाटो उल्लेखनीय रहेको उनी बताउँछिन् । महिला फुटबल टोलीको पनि तलब स्केल यस बिचमा १८ हजारबाट ३० हजार रुपैयाँ पुगेको हो । अन्तर्राष्ट्रिय लिगमा नेपाली महिला फुटबलरको उपस्थिति पनि त्यत्तिकै बढेको छ । 

यस बिचमा नेपालले केही प्रतियोगिताहरुमा सानदार प्रदर्शन गरेको छ । काठमाडौँमा भएको महिला साफ च्याम्पियनसिपमा उपाधि त जित्न सकेन । तथापि सबै नेपालीले सो खेल मन पराएका थिए । साउदी अरेबियामा भएको महिला वाफ फुटबल प्रतियोगितामा उप विजेता बनेको नेपालले त्यस प्रतियोगितामा पनि सनसनी पूर्ण प्रदर्शन गरेको थियो । 

लेबनानमा निर्धारित थ्री नेसन्स कप नेपालले गुमाएको थियो । लेबनानमा युद्ध चलिरहेका कारण नेपालले नाम फिर्ता लिएको थियो । अहिले नेपाल आफैले काठमाडौँमा फोर नेसन्स कप फुटबल प्रतियोगिताको तयारी गरेको छ । सो प्रतियोगितामा म्यानमार, किर्गिस्तान, लेबनान र नेपालको सहभागिता रहने छ । १७ देखि २६ फेब्रुअरीसम्म दशरथ रङ्गशालामा सो प्रतियोगिता आयोजना हुने छ । सो प्रतियोगितामा उपाधि जित्ने नेपालको लक्ष्य छ । 

अहिले जारी लिगकै विषयमा अनेक अन्योल उत्पन्न नगरिएको होइन । यसका बाबजुद प्रतियोगिताको सफलताले श्रेष्ठ उत्साहित छिन् । राष्ट्रिय लिगबाट छानिएका नेपाल पुलिस क्लब, एपिएफ, त्रिभुवन आर्मी क्लब, बाग्मती फुटबल क्लब र वालिङ फुटबल क्लबले प्रतिस्पर्धा गरी रहेका छन् । सरिलाको बिचारमा अबको समय महिला फुटबलरका लागि अझ स्वर्णिम दिनको आगमनको समय हुने छ ।