फोर नेसन्स कप सोमवारदेखि

फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सोमवार काठमाडौँमा सुरु हुँदै छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता अन्तर्गत सोमवार दुई खेल हुनेछन् । जसमध्ये पहिलो खेल दिउँसो साढे १ बजे म्यानमार र लेबनानबिच हुनेछ । यस्तै, साँझ साढे ५ बजे सुरु हुने दोस्रो खेलमा नेपाल किर्गिस्तानबिच प्रतिस्पर्धा हुनेछ ।
फिफा वरीयतामा किर्गिस्तान नेपालभन्दा २५औँ स्थान तल छ । हाल किर्गिस्तानको फिफा वरीयता १२८औँ स्थान छ । किर्गिस्तानसँग नेपालले अहिलेसम्म १ खेल खेलेको छ । सन् २०१९ मा किर्गिस्तानमै भएको नादेज्दा कपमा नेपालले ८–२ को फराकिलो जित दर्ता गरेको थियो ।
यही फागुन १४ गतेसम्म चल्ने एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनानले प्रतिस्पर्धा गर्ने छन् । नेपालले दोस्रो खेल ८ फागुनमा लेबनान र ११ फागुनमा म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका खेलहरू राउन्ड रोबिन लिगका आधारमा हुनेछ । शीर्ष दुई टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।