कुस्ती टोली भारत प्रस्थान

Manoj Shiama
18 February, 2025 12:52 pm

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जापानमा हुने आसन्न २० औँ एसियाली खेलकुदको तयारीलाई लक्षित गरी सञ्चालन गरिहरेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका ६ खेलाडीसहित ८ सदस्यीय नेपाली कुस्ती टोली सोमबार भारतको उत्तरप्रदेशस्थित नन्दनीनगर प्रस्थान गरेको छ । तयारीलाई थप प्रभावकारी बनाउन टोली भारत गएको हो ।

टोलीमा समान ३–३ पुरुष÷महिला खेलाडी र २ प्रशिक्षक छन् । पुरुष खेलाडीमा सुरेश चुनारा, सुजित यादव र राम किशोर यादव रहेका छन् । महिलामा सुशीला चन्द, मनीषा सिंह र हेमा भट्ट छन् । प्रशिक्षकमा कुस्तीका मुख्य प्रशिक्षक मुम्ताज अली इद्रिसी र सहायक प्रशिक्षकमा सञ्जय यादव रहेका छन् ।

टोलीलाई राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ, राखेपका सदस्य अञ्जन धमला र राखेपका सदस्य एवं नेपाल कुस्ती सङ्घका अध्यक्ष प्रकाशकुमार कुसारीले बिदाइ गरे । 

भारत बसाइका क्रममा टोलीले १५ दिन प्रशिक्षणका साथै भारतीय खेलाडीसँग मैत्रीपूर्ण खेल पनि खेल्ने मुख्य प्रशिक्षक इद्रिसीले जानकारी गराए ।