नेपाल सुपर लिग १६ चैतदेखि

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको उद्घाटन खेलमा साबिक विजेता ललितपुर एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स भिड्ने भएका छन् ।
आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) शुक्रवार खेल तालिका सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । प्रतियोगिता १६ चैत देखि १३ वैशाखसम्म हुने तय छ । ललितपुर र काठमाडौं खेल साँझ ६ बजे हुनेछ ।
४ वैशाखसम्म सिंगल राउन्ड रोबिनमा लिग चरणका खेल हुनेछन्। २१ खेल हुनेछन् । प्रतियोगितामा यसपल्ट साबिक विजेता ललितपुर सिटी एफसीसँगै झापा एफसी, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले सहभागिता जनाउने आयोजकले पक्का गरिसकेको छ ।
वीरगन्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने तेस्रो संस्करण नखेल्ने भएका छन् । सहभागी सात टोलीले प्रशिक्षक, मार्की, कप्तान र खेलाडी अनुबन्ध गरिसकेका छन् । केही टोलीले भने नियमित प्रशिक्षणसमेत थालिसकेका छन् ।
लिग चरणका उत्कृष्ट दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । यो खेल ६ वैशाख देखि हुनेछ । तेस्रो र चौथो स्थानमा रहने टोलीले भने दोस्रो क्वालिफायर खेल्नेछन् ।
पहिलो क्वालिफायरको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ । पहिलो क्वालिफायरमा पराजित भएको टोली र दोस्रो क्वालिफायर विजेता टोलीले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् । विजेता टोलीले फाइनलमा स्थान बनाउने छ ।
दोस्रो क्वालिफायर ७ वैशाखमा हुनेछ । इलिमिनेटर १० वैशाख र फाइनल १३ वैशाखमा हुने आयोजकले जनाएको छ ।