तेस्रो पटकको सहभागिता स्वर्णिम बनाउने प्रयासमा चितवन

Manoj Shiama
21 March, 2025 10:22 am

चितवन एफसी मार्फत नेपाली फ्रेन्चाइज फुटबलमा प्रवेश गरेको आइएमई स्पोर्ट्स एन्ड इन्टरटेन्मेन्ट यस पटक एकदमै उत्साहित छ । त्यसो त पछिल्ला दुई संस्करण चितवनका लागि सुखद भएन । पहिलो संस्करण जित विहीन चितवन दोस्रो संस्करणमा पनि प्ले अफ प्रवेश गर्न असफल थियो । यस पटक चितवनको टोली उत्साहित छन् । फ्रेन्चाइजका प्रमुख सचिन ढकालको उत्साह फरक किसिमको छ । 

पछिल्लो समय क्लब फुटबलमा छाएका नवीन न्यौपानेको प्रशिक्षणमा रहेको चितवनमा मार्की खेलाडी अञ्जन विष्ट छन् । यी दुवै नेपाली फुटबलमा उत्तिकै सफल नाम हुन् । विशाल श्रेष्ठ र सुमित श्रेष्ठ माथि टिमले धेरै नै आशा राखेको छ । यस पटक धेरै विदेशी खेलाडी एनएसएलमा भित्रिएका छन् । चितवन पनि यस बाट विमुख छैन । 

उज्बेकिस्तानका नोर्डेभिक रामालोभ, अमेरिकाका जोनाथान क्याम्बेल त टोलीका प्रमुख खेलाडी भई नै हाले । घानाका नाम चलेको टोनी जेब्रल चितवनका अर्का भरपर्दा स्टार हुन् । एटेकिङ मिडफिल्डर उनी यस एनएसएलका हेर्न लायक खेलाडी समेत हुन् । 

जमैकाका  गोलरक्षक नाइट त टोलीका अर्का आकर्षण भई नै हाले । नाइजेरियाका मलिक युसुफ र अमेरिकाका भिक्टर मान सरायलाइ अनुबन्ध गराउन पाउँदा अझ बढी उत्साहित छ । 

त्यसो त यस सिजनको खर्च बढेको छ । सबै टोलीले विदेशबाट नाम चलेका स्टार भित्र्याएका छन् । सायद यसले नेपाली फुटबललाई पककै माथि उकास्ने छ । तर पनि यसका केही समस्या भने पक्कै छन । एसियाली फुटबलको मूलधारमा प्रवेश गर्न सकेको छैन ।

यो सिजन चितवनको खर्च २ करोड देखि २ करोड ५० लाख रुपैयाँ हुने छ । फ्रेन्चाइज प्रमुख ढकालकै मत छ, ‘बिस्तारै फ्रेन्चाइजहरु नाफामा जाने छन् भन्ने लाग्छ । अन्यथा हरेक वर्ष यसै गरी खर्च गरी रहन साँच्चै कठिन काम हो ।’ 

त्यसो त नेपालको अर्थतन्त्र पछिल्लो समय सही बाटोमा छैन । यस समयमा पनि फ्रेन्चाइजमा विभिन्न निकायको चासो पक्कै महत्त्वपूर्ण पक्कै हो । यसको मूल कारण भने फुटबल प्रतिको लगाव नै हो । तथापि यसै लगावका कारण मात्र धेरै वर्ष रही रहन कठिन हुने कुरामा भने ढकाल नै पनि सहमत छन् । फुटबललाई पुरानो साख र लोकप्रियताको आवश्यकता भने पक्कै छ । 

चितवनको अहिलेको चासो उपाधि नै हो । यसका लागि टोली अहिले प्रशिक्षणमा व्यस्त छन् । टोलीमा रहेका हरेक व्यक्ति यसमा लागी परेका छन् । अध्यक्ष ढकाल, मार्की खेलाडी विष्ट, प्रशिक्षक न्यौपाने र अपरेसन अफिसर मिलिनियम ढकालको मेहनत उस्तै छ । 

घरेलु प्रतियोगिताका कारण सबै खेलाडी जम्मा भएर प्रशिक्षण सुरु हुन समय लागेको पक्कै हो । तथापि चितवनको प्रशिक्षण सुरु भएको करिब एक साता भएको छ । यस एक साताको प्रशिक्षणले टोली अझै धेरै उत्साहित भएको छ । चितवनको नयाँ जोस र उत्साहले उपाधिसम्म लैजाने हो या होइन प्रतीक्षाको विषय हो ।