काठमाडौँको उत्कृष्ट पुनरागमन

Manoj Shiama
30 March, 2025 6:17 am

दुई गोलको अग्रताका बाबजुद साबिक विजेता ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनको उद्घाटन खेलमा काठमाडौं रेजर्स एफसीसँग बराबरी गरेको छ । ललितपुर अन्तिम केही मिनेट अग्रता जोगाउन असफल भएको हो ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिवार भएको खेलमा ललितपुर सिटी र काठमाडौं रेजर्सको खेल २–२ गोलको बराबरीमा सकियो । खेलको मध्यान्तरसम्म भने ललितपुर दुई गोलले अघि थियो । 

ललितपुरका लागि जोनाथन क्यान्टिलाना र आदित्य शाक्यले गोल गरे । काठमाडौँका अमाडौ डिओप र भिनसेन्ट कोजिलोले समान गोल फर्काए ।  ललितपुरले खेलको छैटौँ मिनेटमा नै जोनाथानको गोलबाट अग्रता लिएको हो । 

दायाँ भागको कर्नरबाट उनले गरेको प्रहार दोस्रो बारको पोलमा ठोकिएर गोलमा परिणत भएको थियो । जोनाथानको क्रसलाई काठमाडौँका गोलरक्षक अभिशेक बरालले ठम्याउन समेत सकेनन् । १४औँ मिनेटमा नै ललितपुरले अग्रता दोब्बर बनाउन सफल भएको हो । 

काठमाडौँको रक्षपक्तिले गरेको गल्तीको फाइदा उठाउँदै ललितपुरले दोस्रो गोल गरेको हो । आदित्य शाक्यले काठमाडौँका गोलरक्षक बराल सहजै बिट गर्दै गोल गरेका हुन् । 

पापा इबु केबेको थ्रु बललाई इमोह इजेकिइलको सट गोलकिपर अभिसेकले छेके पछि सोही रिबाउन्ड बल नियन्त्रणमा लिँदै इजेकिइलले अर्को दिसातर्फm आदित्यलाई क्रस पास दिए ।

त्यसको सदुपयोग गर्दै आदित्यले गोल गरे । ललितपुर २५औँ मिनेटमा तेस्रो गोलको नजिक पुगे पनि चुकेको थियो । इजेकिइलले पेनाल्टी बक्सबाट गरेको सट पहिलो बारमा लागेर फर्किएको हो । आदित्यको थ्रु बललाई अफ साइड बिट गर्दै इजेकिइलले प्रहार गरेका थिए । 

२८औँ मिनेटमा नै काठमाडौँका मोहमेद बुया टुरेको डाइभिङ हेडर ललितपुरका गोलकिपर जेफ्री विली बाल्टसले उत्कृष्ट बचाउ गरे । भिनसेन्ट कोजिलाको कर्नर प्रहारमा एलिजोन एलिजोनोभको हेडर पासमा टुरेको हेड सेट ललितपुरका गोलकिपर बाल्टसले असफल बनाएका हुन् । 

दोस्रो हाफमा पनि ललितपुरले आक्रामक थियो । काठमाडौँले ४७औँ मिनेटमा गोल गर्ने सुन्दर अवसर सदुपयोग गर्न नसके पनि जिलेस्पीजंग कार्कीले लेफ्ट साइडबाट दिएको सुन्दर क्रस टुर उपयोग गर्न चुके । ६२औँ मिनेटमा ललितपुरको आक्रमण पनि काठमाडौँका गोलकिपर अभिसेकले विफल बनाए । पेनाल्टी बक्सभित्रबाट पापा केबेको लेफ्ट फुटेट सट अभिशेक पन्च गर्दै बाहिर पठाइदिएका हुन् । 

७५औँ मिनेटमा काठमाडौं अमाडौं डिओपले गोल गरे पछि काठमाडौँको स्वर्णिम कम ब्याकको सुरुवात भएको थियो । पेनाल्टी बक्सको लेफ्ट साइडबाट जिलेस्पीले दिएको कट पास नियन्त्रणमा लिँदै उनले गोल गरेका हुन् ।

८५औँ मिनेटका जिलेस्पी नजिकै दूरीबाट गोल गर्न चुक्दा काठमाडौँले बराबरीमा फर्कने अवसर गुमाए पनि इन्जुरी समयमा काठमाडौं पेनाल्टी गोलमार्फत खेलमा फर्कियो । पेनाल्टी बक्समा भिनसेन्ट कोभिलोलाई ललितपुरका योगेश गुरुङले लडाएपछि काठमाडौँले पेनाल्टी अवसर पाएको हो । भिनसेन्टले नै उक्त पेनाल्टी अवसर सदुपयोग गर्दै काठमाडौँलाई २–२ को बराबरीमा ल्याए ।