साबिक विजेता ललितपुरको पहिलो जित

ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई हराउँदै नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आफ्नो दोस्रो खेलमा ललितपुरले पोखरालाई ३–२ ले हराउँदै पहिलो सफलता निकालेको हो । ललितपुरका लागि जोनाथन कान्टिलानाले दुई तथा इजेकिइल इमोहले गोल गरे । पोखराका समीर तामाङ र जोए आइडुले गोल गरेका हुन् । त्यसअघि ललितपुरले खेलमा अग्रता लिएको हो । खेलको ११औँ मिनेटमा नै कर्नर प्रहारबाट ललितपुरले गोल गर्न सफल भयो ।
कर्नर प्रहारमा जोनाथानको पोखराका डिफेन्स र गोलकिपर गोलकिपर गुइलौमे प्रिसोबीच तालमेल नमिल्दा गोल भएको हो । तर, दुई मिनेट पछि नै पोखराले फ्रिकिकबाट अवसर बुन्यो । करिब २५ यार्डबाट साइडोस्टोन डिजाफारोभको फ्रिकिक पोस्टभन्दा माथिबाट बाहिरियो । २५औँ मिनेटमा ललितपुरले अग्रता दोब्बर बनाउने अवसर पाए पनि इमोह इजेकिइलले सदुपयोग गर्न सकेनन् । मध्य भागबाट कान्टिलानाको उत्कृष्ट पासलाई इमोहले नियन्त्रणमा लिए पनि त्यसलाई गोलमा परिणत गर्न असफल भए । इमोहले ३०औँ मिनेटमा पनि नजिकैबाट हेडर पोस्टको दिशामा राख्न सकेनन् ।
यद्यपि, पोखरा ४२औँ मिनेटमा समीर तामाङको गोलबाट खेलमा फर्कियो । आयुष घलानले लेफ्ट कर्नर साइडबाट दिएको बललाई कप्तान नवयुग श्रेष्ठको हेडर ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले रोके । बल्टुसबाट आएको रिबाउन्ड बललाई समीरले गोलमा परिणत गरे । पहिलो हाफको थप समयमा गोल गर्दै ललितपुरले फेरि अग्रता लिएको थियो । मध्य भागबाट कान्टिलानाको लामो पास पोखराका अन्तिम डिफेन्डर विलियमले क्लियर गर्न सकेनन् । त्यो बललाई ट्यापिङ गर्दै इमोहले गोल गरेका हुन् । लगत्तै पेनाल्टी बक्समा अन मार्क मणिकुमार लामाले ललितपुरको तेस्रो गोल गर्ने अवसर गुमाए ।
पोखराका गोलकिपर प्रिसोसँग वान भर्सेस वानको अवस्थामा उनी गोल गर्न असफल भए । करिब १० यार्डबाट उनको प्रहार अकासियो । त्यससँगै पहिलो हाफमा ललितपुर २–१ ले अगाडि रह्यो । दोस्रो हाफको सुरुआतमा नै पोखराले फ्रिकिकबाट बराबरीमा ल्याउने अवसर पायो । २५ यार्डबाट स्टेफन बिनोङको फ्रिकिक ललितपुरका गोलकिपर बाल्टुसले सहजै नियन्त्रणमा लिए । ६०औँ मिनेटमा आदित्य शाक्यले ललितपुरको अग्रता बढाउने अवसर गुमाए । केरभेन्स बेलफोर्टले पेनाल्टी बक्सबाट नै दिएको ब्याक पासमा उनले फितलो प्रहार गरे । पोखराको ६७औँ मिनेटमा खेल फर्कने प्रयास पनि ललितपुरका गोलकिपर बाल्टुसले असफल बनाए ।
जोए आइडुको क्रसमा पेनाल्टी बक्सभित्र अन मार्क सुदिलको सटलाई बाल्टुसले उत्कृष्ट बचाउ गरे । ७५औँ मिनेटमा कान्टिलानाको गोलबाट ललितपुर ३–० ले अगाडि बढ्यो । सनिष श्रेष्ठले तीन खेलाडीका बिचबाट दिएको कट ब्याक पासलाई कान्टिलानाले गोल गरेका हुन् । चार मिनेटपछि नै ललितपुरको चौथो गोल गर्ने प्रयासलाई पोखराका आइडुले हेड गर्दै क्लियर गरे । ८१औँ मिनेटमा पोखराका नवयुग श्रेष्ठको सट ललितपुरका गोलकिपर बाल्टुसले गोल लाइनबाट क्लियर गरे । समीर तामाङको क्रसलाई नवयुगले वान टच गरे पनि बाल्टुसले रोके । यद्यपि, पोखराका खेलाडी र टिम अफिसियलले त्यो बल जाली भित्रबाट क्लियर गरेको आरोप लगाए ।
इन्जुरी समयमा पोखराका आयुष घलानले अग्रता छोट्टाउने अवसर खेर फाले । समीर तामाङको कट ब्याकमा करिब १८ यार्डमा रहेका आयुषले फितलो प्रहार गरे । इन्जुरी समयको ९ मिनेटमा आइडुले गोल गर्दै खेलमा फर्कने सङ्केत गरे । समीरले एक डिफेन्डरलाई छकाउँदै दिएको कट ब्याक पासमा आइडुले दोस्रो बार च्याप्दै उत्कृष्ट गोल गरे ।