बुटवललाई हराउँदै चितवन शीर्ष स्थानमा

पहिलोपल्ट बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रवार सम्पन्न खेलमा चितवनले १–० को कठिन जित हात पारेको हो ।
एनएसएलमा बुटवलमाथि चितवनको यो नै पहिलो जित हो । यसअघिका दुवै संस्करणमा यी दुई टोली बिच बराबरी भएको थियो । पहिलो २–२ र अर्को संस्करणमा १–१ को बराबरी भएको थियो ।
यो नतिजासँगै चितवनले २ खेलमा २ जितसहित ६ अङ्क जोडेको छ । चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० ले हराउँदै सानदार सुरुआत गरेको थियो ।
चितवन साबिक विजेता ललितपुर सिटी एफसीभन्दा २ अङ्कले अगाडि रहेको छ । बुटवलको भने यो दोस्रो हार हो । झापा एफसीसँग गोलरहित बराबरी खेलेको बुटवल दोस्रो खेलमा धनगढी एफसीसँग ३–१ ले पराजित भएको थियो ।
बुटवल भने एक अङ्कसाथ छैटौँ स्थानमा छ । चितवनलाई लगातार जित दिलाउन घानाका अट्याकिङ मिडफिल्डर टोरिक जेब्रिनले गरेको गोल निर्णायक बन्यो ।
उनले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका हुन् । नोडिर माभ्लोनोभले दिएको क्रसलाई उनले भिक्टर लाई उपलब्ध गराउन खोजेका थिए । बुटवलका डिफेन्डर सरोज तामाङलाई लाग्दै रिबाउन्डमा आएको बललाई उनले पेनाल्टी बक्सबाहिरबाट लेफ्ट फुटेट सर्ट प्रयोग गर्दै गोल गरेका हुन् ।
यस अघिका दुवै संस्करणमा चितवन पहिलो चरणबाट बाहिरिएको थियो । यस संस्करणमा भने चितवनले पहिलो पटक उपाधि जित्ने लक्ष्य लिएको छ । राष्ट्रिय टोलीको समेत जिम्मेवारी सम्हाली सकेका नवीन न्यौपानेको प्रशिक्षणमा रहेको चितवनमा अञ्जन विष्ट मार्की खेलाडी छन् ।
चितवनका प्रशिक्षक न्यौपानेले पहिलो लक्ष्य प्ले अफ भएको र त्यस पछि मात्र अन्य विषयको बारे चासो दिने बताए ।