पोखराको पहिलो जित

Manoj Shiama
6 April, 2025 8:33 am
Ncell Nepal Super League 2025: Match between Pokhara Thunders FC and Kathmandu Rayzrs FC at Dasharath Stadium in Kathmandu on Saturday 05.April.2025. Photo: Udipt Singh Chhetry/USC Images Production

काठमाडौं रेजर्सलाई हराउँदै पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिवार सम्पन्न दिनको पहिलो खेलमा पोखरा २–० ले खेलको नतिजा आफ्नो पक्षमा पारेको हो । जितसँगै पोखराले ३ अङ्क हात पारेको छ । पोखरा ३ खेल खेल्दै पुछारबाट चौथो स्थानमा उक्लिएको छ । एफसी चितवनसँग २–० र साबिक विजेता ललितपुर सिटी एफसीसँग पोखरा ३–२ ले पराजित भएको थियो । 

काठमाडौँको भने यो पहिलो हार हो । पहिलो खेलमा काठमाडौँले ललितपुरलाई २–२ को बराबरीमा रोकेको थियो । दोस्रो खेलमा झापा एफसीसँग काठमाडौं गोलरहित बराबरीमा रोकिएको थियो । पोखराको जितमा स्टेफेन समीर विनोङ र र सुदील राईले गोल गरे । खेलको २५औँ मिनेटमा विनोङले सुरुआती अग्रता दिलाएका थिए ।

उज्बेकिस्तानका साइददोस्तोन जाफारोभले दिएको पासमा उनले बक्सभित्रबाट हेडरमार्फत गोल गरेका हुन् । उनको सटीक हेडरलाई काठमाडौँका गोलकिपर अभिषेक बरालले रोक्ने कुनै अवसर नै पाएनन् ।

त्यसको ८ मिनेटपछि नै पोखराले पेनाल्टी पाएको थियो। अग्रता बढाउने अवसरमा अभिषेक बाधक बने । काठमाडौँका कप्तान कुल दीप कार्कीले विनोङलाई बक्समा लडाएपछि पोखराले पेनाल्टी पाएको थिए । विनोङको प्रहार अभिषेकले सहजै बचाए ।

५९औँ मिनेटमा पोखराले अग्रता दोब्बर बनाएका हो । कप्तान आयुष घलानको क्रसमा सुदीलले गोल गरेका हुन् । 

काठमाडौँ र धनगढी बिच बराबर

शनिवार भएको दोस्रो खेलमा साबिक विजेता ललितपुर सिटी एफसी र उपवजिता धनगढी एफसी बिच गोलरहित बराबरी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिवार सम्पन्न खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन् । यो नतिजासँगै दोस्रो स्थानमा रहेको ललितपुरको ३ खेलबाट पाँच अङ्क भएको छ । २ खेल मात्र खेलेको धनगढीको भने ४ अङ्क छ । चितवन एफसी  अङ्क सहित शीर्ष स्थानमा छ । ७ टोली समावेश प्रतियोगिताको राउन्ड रोबिनको आधारमा पहिलो चरण सकिए पछि शीर्ष ४ टोली प्ले अफमा प्रवेश पाउने छन् । प्रतियोगिताको पहिलो संस्करण काठमाडौँ रेजर्सले तथा दोस्रो संस्करण ललितपुर एफसीले जितेका थिए । प्रतियोगिताको दुवै संस्करणमा धनगढी फाइनलमा पराजित भएको थियो । विगतको तुलनामा यस संस्करणमा विदेशी खेलाडीको प्रभाव बढी छ ।