चितवन र झापाको बिच बराबरी

चितवन एफसी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा आइतबार झापा एफसीसँग बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा चितवनले झापासँग १–१ को बराबरीमा रोकिँदै अङ्क बाँडेको हो । चितवनका लागि टोरिक जेबरिक र झापाका अलहाजी गेरोले गोल गरेका हुन् । पहिलो हाफमा चितवनले गोल गर्दै दबाब बनाएको थियो ।
अन्तिम समयमा समालिन नसक्दा चितवन अङ्क बाँड्न बाध्य भएको हो । त्यसअघि चितवनले खेलको पाँचौँ मिनेटमा नै गोल गर्ने उत्कृष्ट अवसर सिर्जना ग¥यो । तर, भिक्टोर मानसारेको करिब २५ यार्डबाट गरेको सशक्त प्रहार झापाका गोलकिपर एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।

३ मिनेटपछि नै चितवनका शिशिर लेखीले अग्रता लिने सुन्दर अवसर सदुपयोग गर्न सकेका थिएनन् । झापाको गोलकिपर एन्जल अगाडि बढेको अवस्थामा उनको २२ यार्डबाट लेफ्ट फुटेड सट पहिलो बारमा लागेर बाहिरिन पुग्यो । झापाले पनि चितवनका डिफेन्डर जोनाथन क्याम्बेलकले दिएको ब्याक पास खोस्दै अग्रता लिने सुन्दर अवसर बुनेको थियो । अलहाजी गेरोले उक्त बल खोस्दै पेनाल्टी बक्सबाट गरेको प्रहार चितवनका गोलकिपर अमल नाइटले पन्च गर्दै बचाउ गरे । २५औँ मिनेटमा पनि झापाका प्रवीण खुलालले लामो दूरीबाट गरेको प्रयास पोस्टको दिशामा रहन सकेन ।
चितवनले २८औँ मिनेटमा टोरिकको गोलबाट अग्रता बुन्यो । शिशिर लेखीले पेनाल्टी बक्सबाटै दिएको बललाई टोरिकले लेफ्ट फुटेड सटबाट जाली चुमाएका हुन् । झापाका छिरिङ लामाले डिफेन्समा गल्ती गरेपछि चितवनले त्यसको फाइदा लिएको हो । ३८औँ मिनेटमा गेरोले झापालाई बराबरीमा ल्याउने सुन्दर अवसर खेर फाले । नजिकै दूरीबाट उनको फ्रिहेडर पोस्टको दिशामा रहन सकेन । यससँगै पहिलो हाफमा चितवन १–० ले अगाडि रह्यो । दोस्रो हाफको सुरुमा नै झापाले आक्रमण बुने पनि सफलता पाउन भने सकेन । लामो दूरीबाट अभिनाश स्याङ्तानको सट चितवनका गोलकिपर अमलको लागि चुनौती भएन । ५९औँ मिनेटमा पनि झापाको गोल गर्ने प्रयास सफल भएन ।
चितवनका डिफेन्डर जोनाथन क्याम्बेल र अभिषेक लिम्बूबिच तालमेल नमिल्दा झापाको गोल गर्ने प्रयास असफल भयो । झापाका गेरोले लेफ्ट साइडबाट दिएको बललाई बललाई जोनाथनले क्लियर गर्न प्रयास गरे । तर, त्यो बल बारमा लागेर चितवनका गोलकिपर अमलको हातमा नै पुग्यो । ६८औँ मिनेटमा झापाको कर्नर किकबाट गोल गर्ने प्रयासलाई गोलकिपर अमलले नै विफल बनाए । लाजर आर्सिकको उत्कृष्ट कर्नरलाई उनले पन्च गर्दै बाहिर पठाएका हुन् । तीन मिनेटपछि नै चितवनका छिरिङ गुरुङको लामो दूरीबाट गरेको सट पनि झापाका गोलकिपर एन्जलका लागि चुनौती भएन । ७५औँ मिनेटमा झापाका गिरोले थ्रो बललाई नियन्त्रणमा लिँदै उत्कृष्ट टर्नबाट गरेको सट चितवनका गोलकिपर अमलले सहजै रोके ।
८१औँ मिनेटमा झापाका अभिषेक स्याङ्तानले पेनाल्टी बक्स बाहिरबाट गरेको सशक्त प्रहार पोस्टको दिशामा रहन सकेन । ८८औँ मिनेटमा लाजरको फ्रिकिक सट पहिलो बारमा लागेर फर्किँदा झापाले बराबरी गर्ने अवसर चुकायो । २६ यार्डबाट उनको सटबाट चितवनका गोलकिपर अमल बिट भए पनि बार बाधक भयो । तर, इन्जुरी समयमा झापाले पेनाल्टी गोलबाट १–१ को बराबरी ल्यायो । चितवन नीरज चौधरीले आरोन थापालाई लडाएपछि झापाले पेनाल्टी अवसर पाएको हो । खेलका रेफ्री कबिन व्यञ्जनकारले सहायक रेफ्रीको सहायताबाट पेनाल्टी निर्णय लिएका हुन् । त्यो अवसरमा झापाका गेरोले गोल गरे । उनको पेनाल्टी प्रहारलाई चितवनका गोलकिपर अमलले भेट्टाउन नै सकेन । त्यसपछि थप गोल भएन र खेल १–१ को बराबरीमा नै सकियो ।
बराबरी पछि चितवनको ३ खेलमा ७ तथा झापाको ३ अङ्क भएको छ । झापाले सबै खेलमा बराबरी गरेको हो भने चितवनले यस अघिका दुवै खेलमा सफलात पाएको थियो ।