काठमाडौँको पहिलो जित

Manoj Shiama
9 April, 2025 8:15 am

अमाडोउ डिओपको निर्णायक गोलसँगै काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार सम्पन्न आफ्नो चौथो खेलमा काठमाडौँले बुटवल लुम्बिनी एफसीविरुद्ध १–० को जित हात पारेको हो । 

 नतिजासँगै तेस्रो स्थानमा उक्लिएको काठमाडौँले ४ खेलबाट पाँच अङ्क भएको  छ । समान खेल खेलेको बुटवलको भने १ अङ्क छ । बुटवल अङ्क तालिकामा पुछारमा छ ।

गोलरहित बराबरीतर्फ उन्मुख खेलमा डिओपले निर्धारित समय सकिन २ मिनेट बाँकी हुँदा गोल गरेका हुन् । भिन्सेन्ट कोजिइल्लोसँग तालमेल मिलाउँदै बक्स लाइननजिकबाट उनले प्रहार गरेको बललाई बुटवलका गोलकिपर दीप कार्कीले बचाउन सकेनन् ।  यस खेल पछि बुटवलको प्ले अफको सम्भावान अत्यन्त न्युन बनेको छ । 

७१औं मिनेटमा बुटवलका डिफेण्डर सुमन श्रेष्ठले रातो कार्ड पाएपछि दश खेलाडीमा झरेको थियो । काठमाडौँले खेलमा गोल गर्ने आधा दर्जन बढी अवसर बनाएपनि बुटवलका गोलकिपर दीप कार्कीले सानदार प्रदर्शन गर्न अग्रता लिन अन्तिम समयसम्म कुर्नुपरेको थियो । तालिकामा चितवन एफसी ७ अंकम सहित शीर्ष स्थानमा छ ।