कराते महासंघ र होपको राहत काभ्रेमा

Manoj Shiama
28 May, 2015 9:32 am

karate rahat
नेपाल कराते महासंघको पहल र क्यानाडाको ह्यान्ड्स फर अप्टिमाइजिङ पिपुल्स एजुकेसन (होप) नामक संस्थाको सहयोगमा काभ्रेको तामाघाटस्थित दनुवार बस्तीका भूकम्प पीडितलाई बुधबार राहत सामाग्री वितरण गरिएको छ ।
उक्त बस्तीका ८३ घरधुरीलाई ७९ थान ब्ल्याङकेट, १८ थान झुल, १५ बोरा चामल, १० प्योटक चाउचाउ, ४० थान म्याट्रेसलगायत गरी ८० हजार मूल्य बराबरको राहत सामाग्री वितरण गरिएको होपकी महासचिव सुस्मिता तामाङले जनाएकी छन् ।
सुस्मितासहित कराते महासंघका अध्यक्ष दावा गुरुङ, नेपाल लोकतान्त्रिक खेलकुद संघका सचिव सुबोध प्रधान, ब्ल्याकबेल्ट कमिटीका अध्यक्ष नारायणदेव राणा, महासंघका सदस्य राजेश अधिकारी, होपका उपमहासचिव विजय लामालगायतले राहत वितरण गरेका थिए । यसअघि महासंघ र होपले संयुक्त रुपमा धादिङ, लम्जुङ, गोर्खालगायतका भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गरिसकेको छ ।
राहत वितरणकै क्रममा कराते महासंघका अध्यक्ष गुरुङले भूकम्पमा परी ज्यान गुमाएकी कराते खेलाडी शान्ति थापाको परिवारलाई महासंघको तर्फबाट आर्थिक सहयोग स्वरुप १० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।