नवीता नकआउट चरणमा

Manoj Shiama
10 July, 2015 8:42 am
टेटेमा प्रतिस्पर्धा गर्दै नेपालका ज्याकी महर्जन
टेटेमा प्रतिस्पर्धा गर्दै नेपालका ज्याकी महर्जन

दक्षिण कोरियाको ग्वाङजुमा भइरहेको २८ औं समर युनिभर्सियाड गेम– २०१५ अन्तर्गत टेबलटेनिसको महिला सिंगल्समा नेपाल नम्बर वान नवीता श्रेष्ठ बिहीबार नकआउट चरणमा प्रवेश गरेकी छन् ।       ग्रुप ‘२२’ को लिग खेलमा नवीताले अल्जेरियाकी नास्री यस्मिनलाई ११–८, ११–७ र ११–९ को सोझो सेटमा पराजित गरिन् । त्यसअघि नवीताले सेरा लियोनकी कामारा फत्माटा विन्टुबाट वाकओभर पाएकी थिइन् । लिगको अन्तिम खेलमा नवीताले शुक्रबार माल्दोभाकी खेलाडीसंग खेल्ने छिन् । त्यो खेल गुमाएपनि नवीताको नकआउट चरणमा स्थान सुरक्षित रहनेछ ।

महिला सिंगल्समा अनिता महर्जन रोमानियाकी इस्ट्राटे रोक्सानासग ३–११, २–११ र ४–११ तथा स्टोनियाकी सेटोन क्रिस्टिनासंग २–११, ३–११ र ३–११ ले पराजित हुन पुगिन् ।       पुरुष सिंगल्सको लिग खेलमा राष्ट्रिय च्याम्पियन दीप साउनले अल्जेरियाका तेफही मोहम्मद अनिशलाई ११–६, ११–४ र ११–५ ले हराए । त्यस्तै अल्जेरियाकै अली मोहम्मदलाई पन्छ्याउने क्रममा ज्याकी महर्जनले ११–८, ११–६ र ११–६ को प्रदर्शन गरे ।

पुरुष सिंगल्सकै अन्य लिग खेलमा नेपालका आशिष अवाले लेबननका खेलाडीसंग २–३, विनेश खनियाँ रसियाका खेलाडीसंग ०–३ र अभयराज श्रेष्ठ भेनेन्ज्युएलाका खेलाडीसंग १–३ ले पराजित भए ।

जित्ज्वेली ३२ औं स्थानमा

पौडीमा नेपालकी जित्ज्वेली महर्जनले बिहीबार ३२ औं स्थान हासिल गरेकी छन् ।
महिलाको ५० मिटर फ्रिस्टायलमा सहभागी ३३ मध्ये जित्ज्वेली ३२ औं भएकी हुन् । जित्ज्वेलीले निर्धारित दूरी ३६.२८ सेकेन्डमा पूरा गरिन् । नाम्बु युनिभर्सिटी एक्वेटिक्स सेन्टरमा जित्ज्वेलीले युगान्डाकी नकिमुली मरिना एन बेत्सीलाई पछि परेका थिइन् । नकिमुलीले निर्धारित दूरी तय गर्न ३९.७१ सेकेन्ड समय खर्चिन् ।