सुनीलको सहयोगमा खेलकर्मीको एकबद्धता

Manoj Shiama
20 July, 2015 12:56 am

sunil lama
भूकम्पपीडित राष्ट्रिय कराते खेलाडी सुनिल लामालाई आइतबार आर्थिक सहयोग प्रदान गरिएको छ । ११औँ दक्षिण एसियाली खेलकुद (साग) तथा १३औँ एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपका स्वर्णधारी सुनीललाई १०औँ सागका स्वर्णधारी एवं राष्ट्रिय टिम तयारीका प्रशिक्षक कुशल श्रेष्ठको पहलमा खेलकुद सम्बद्धहरूबाट संकलित एक लाख ३५ हजार दुई सय आठ रुपैयाँ प्रदान गरियो ।
कुल सहयोगमा ओकिनावा नेपाल फ्रेन्डसिप एसोसिएसन सोरिनरियो सोरिनकाइहोम्बु, जापानका सञ्जीव श्रेष्ठले २२ हजार आठ सय दुई, अमेरिकामा बस्ने सरोज भट्टराईले १५ हजार ५१, जर्मनमा बस्ने बेल गुरुङले १५ हजार, अमेरिकामा बस्ने नरेन्द्र आचार्यले १० हजार, मकाउ कराते टिमले २५ हजार, नेपाल कराते महासंघका महासचिव एवं वादोरियो करातेका प्रमुख प्रशिक्षक हरिशरण केसीले सात हजार, दुबई बस्ने सुरज सुवेदीले पाँच हजार, हङकङमा बस्ने राजेश श्रेष्ठले पाँच हजार ५०, युकेमा बस्ने नविन कनौजियाले चार हजार सात सय ५०, राष्ट्रिय कराते खेलाडी परशुराम बाँस्तोलाले पाँच हजार पाँच सय ५५, निमा साङ, रञ्जन श्रेष्ठ, रमेश मगर र बुद्ध गौचन मिलेर ६ हजार, भारतमा बस्ने अविन केसीले पाँच हजार, रामलिम्बू र महेन्द्रकुमार राई मिलेर चार हजार तथा कराते खेलाडी जनकसिंह खड्काले पाँच हजार सहयोग गरेका थिए ।
नेपाल स्पोर्ट्स क्लबले रानीवनमा आयोजना गरेको कार्यक्रममा कुशलसहित नेपाल कराते महासंघका महासचिव एवं वादोरियो करातेका प्रमुख प्रशिक्षक हरिशरण केसी, नेपाल स्पोर्ट्स क्लबकी कोषाध्यक्ष तारा गुरुङ, राष्ट्रिय कराते खेलाडी परशुराम बाँस्तोलालगायतले सुनीललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । गत वैशाखको भूकम्पका कारण सुनीलको नागार्जुन नगरपालिका–१, रानीवनस्थित साढे दुई तले घरमा बस्न नमिल्ने गरी क्षति पुगेको छ । (सौस)