भारतमा हुने एसियन किक बक्सिङको तयारी तीव्र

Manoj Shiama
25 July, 2015 12:19 pm

kick boxingg

दशरथ रंगशालामा किक बक्सिङका खेलाडी दिनहँु जस्तो कडा परिश्रमका साथ तालिम गर्ने गरेको देखिन्छन् । १५ साउनदेखि भारतको पुनेमा हुने एसियाली किक बक्सिङ च्याम्पियनसिपका लागि उनीहरू हाल ब्यस्त छन् । अन्तर्राष्ट्रिय किक बक्सिङ फेडेरेस (वाको) को अफिसियल प्रतियोगिता समेत भएकाले नेपाली किक बक्सिङ टोली उक्त प्रतियोगितामा पदक जित्ने उद्देश्यका साथ मिहिनेत गरिरहेका छन् ।
प्रतियोगितामा नेपालका कुल १० बक्सरले सहभागिता जनाउँदै छन् । जसअन्तर्गत दुई महिला र सात पुरुष बक्सरले नेपालको तर्फबाट विभिन्न देशलाई चुनौती दिनेछन् । यसअघि पनि रसियाको युफामा भएको विश्व किक बक्सिङ च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउँदा पाँच पदक हात पारिसकेका भएकाले पनि यस टोलीलाई थप चुनौती थपिएको छ ।
विश्व च्याम्पियनसिपमा नेपालका बक्सर धनकृष्ण महर्जन र देवराज श्रेष्ठले लाइट कन्ट्याक्टमा रजत तथा दिवस श्रेष्ठ, रमेश गुरुङ र देवराज श्रेष्ठले सेमिकन्ट्याक्टमा कास्य पदक जितेका थिए । भारतमा हुने एसियन किक बक्सिङमा नेपालका पाँच रेफ्रीले प्रतियोगितामा रेफ्रीसमेत गर्नेछन् । एसियाली किक बक्सिङका अध्यक्षसमेत आउनेछन् । त्यसैले पनि त्यो प्रतियोगिता नेपालका लागि निकै महत्वपूर्ण मानिनेछ ।
पुनेमा हुने बक्सिङमा पुरुषतर्फ प्रकाश विष्टले ५० केजी, वीरबहादुर तामाङले ५४ केजी, विवेक लामाले ५७ केजी, दिवस दवाडीले ७५ केजी, खगेन्द्र पुन मगरले ६० केजी, रामकृष्ण राउतले ६५ केजी, सन्तोष राउतले ७० केजी र रुद्र लिम्बूले ८१ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै छन् । महिलातर्फ भने विनिता नेपालीले ५७ केजी र रिजन थापा मगरले ५४ केजी तौल समूहमा नेपालको चुनौती पेस गर्नेछन् । उक्त प्रतियोगितामा पूर्वआइजिपी शैलेन्द्रकुमार श्रेष्ठ टिम व्यवस्थापकको रूपमा जाँदै छन् । नेपालले पहिलोपटक एसियाली किक बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न लागेको हो । उक्त प्रतियोगितामा जापान, अमेरिका, काजगिस्तान, रसिया र अफगानिस्तानलगायत कुल ३२ राष्ट्रले सहभागिता जनाउँदै छन् । किक बक्सिङ संघका महासचिव एवं प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ भन्छन्, ‘तयारी राम्रो भएकाले नेपालले पुरुषतर्फ ४ र महिलातर्फ एक पदक हात पार्नसक्ने सम्भावना रहेको बताउँछन् ।’
बक्सिङका सहायक प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री राजन भुजेल भन्छन्, ‘हामीले प्राकृतिक प्रकोपका कारण केही समय तालिम रोक्नुपरेको थियो । तथापि हाल दैनिक रूपमा धेरै समय खेलाडीहरूले मिहिनेत गरेकाले पदकको राम्रो आशा गर्न सकिन्छ ।’ दक्षिण एसियाली पदक विजेता सन्तोष खड्का भन्छन्, ‘हाम्रो उद्देश्य स्वर्ण पदक नै जित्नु हो तर पनि एसियाली राष्ट्रका निकै राम्रा प्रतिस्पर्धी सहभागी हुने भएकाले निकै मिहिनेत गर्नु पर्नेछ । हाल किक बक्सिङको नेपालमा राम्रो सम्भावना देखिएकाले चार वर्षपछि पुनः रिङमा फर्केको छु । ’
उनी नेपालका सबैभन्दा अनुभवी खेलाडीसमेत हुन् । सन्तोषले विसं २०५४ सालमा दक्षिण एसियाली किक बक्सिङमा स्वर्ण पदक जित्नुका साथै हालसम्म रिङमा ५० पटक विपक्षीलाई नकआउट गरिसकेका छन् ।