खेलाडी संघद्वारा सदस्य–सचिव विष्टलाई ज्ञापनपत्र

deepak shrestha
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टलाई विभिन्न मागसहितको ज्ञापनपत्र सोमबार बुझाएको छ । खेलाडी संघले राष्ट्रिय खेलाडीको विमाको सम्बन्धमा तत्काल पहल गर्न, हरेक निर्वाचन क्षेत्रमा स्वयंसेवक प्रशिक्षक नियुक्त गर्दा राष्ट्रिय खेलाडीलाई प्राथमिकता दिन, सातौं राष्ट्रिय खेलकुद कार्यान्वयनको पहल गर्नु पर्ने, १२ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी तत्काल अगाडि बढाउनु पर्ने, राष्ट्रिय टोलीका खेलाडीलाई राखेप हातामा बाथरुम, पानी, चेन्जिङ रुम र शौचालयको अभावले दैनिक प्रशिक्षणमा समस्या परेको हुँदा त्यसको व्यवस्था हुनु पर्ने, अन्तर्राष्ट्रिय खेलाडी परिचय पत्रधारी खेलाडीलाई स्वास्थ्य, शिक्षा र यातायातमा छुटको व्यवस्थाका लागि पहल गर्नु पर्ने, राखेप बोर्डमा खेलाडी संघको प्रतिनिधित्व ग्यारेन्टी भएपनि हालसम्म नभएकोले कार्यान्वयनका लागि पहल गर्नु पर्ने, व्यस्था भए बमोजिम राष्ट्रिय खेल संघहरुमा खेलाडीको प्रतिनिधित्व ग्यारेन्टी हुनु पर्ने, सागका स्वर्ण पदक विजेता खेलाडीलाई दिदै आइरहेको आजीवन भक्त केहि वर्षदेखि रोकिएको हुँदा त्यसले निरन्तरता पाउनु पर्ने, सागमा ३ भन्दा कम स्वर्ण जित्नेलाई पनि नगद पुरस्कारबाट सम्मान गर्नु पर्ने, खेलकुदका भौतिक पूर्वाधार मर्मत, पुनर्निर्माण र नयाँ संरचना तयार गर्न तत्काल प्रक्रिया अगाडि बढाइनु पर्ने, राष्ट्रिय टिम तयारी जस्तै जिल्ला र क्षेत्रीय टोलीलाई पनि तयारी अवस्थामा राख्न प्रशिक्षणको व्यस्था हुनु पर्ने, खेलाडी कल्याणकारी कोषमा हरेक वर्ष जम्मा हुनु पर्ने रकम अवरुद्ध हुँदै आएकोमा त्यो नियमित हुनु पर्ने माग गरेको छ ।
खेलाडी संघका अध्यक्ष दीपक विष्ट र महासचिव दीपक श्रेष्ठले सदस्य–सचिव विष्टलाई ज्ञापनपत्र बुझाए । ज्ञापनपत्र बुझेपछि सदस्य–सचिव विष्टले ज्ञापनपत्रमा उल्लेख भएका कतिपय कुरा हल भइसकेको बताउदै आफ्नो तर्फबाट हुने कामलाई तत्काल कार्यान्यवयन गर्ने र बाँकीलाई सम्बन्धित निकायमा कार्यान्वयनका लागि पठाउने प्रतिबद्धता व्यक्त गरे ।

Comment