खेलकुद मन्त्रालयद्वारा बजेट तथा कार्यक्रम सार्वजनिक

Manoj Shiama
14 August, 2015 10:20 pm

chudamani
युवा तथा खेलकुद मन्त्रालयले चालु अर्थिक बर्षको लागि विनियोजित बजेट तथा कार्यक्रमको बारेमा पारदर्शी ढंगले कार्यान्वयन गर्ने उद्धेशयले पत्रकार सम्मेलन मार्फत बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सिंहदरवारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा सह–सचिव चुडामणी पौडेलले खेलकुद मन्त्रालयलाई प्राप्त बजेट विगतको तुलनमा २५ प्रतिशतले बृद्धि भएता पनि समष्टिगत बजेटको तुलनमा ०.३ प्रतिशत भन्दा माथि जान नसकेको बताए । उनले मन्त्रालयले पाएको १ अर्ब ८५ करोड ३८ लाख७० हजारमा सातौ राष्ट्रिय खेलकुदको लागि आवश्यक २७ करोड र दक्षिण एशियाली खेलकुदको लागि आवश्यक ४ करोड यस समाविष्ट नभएको समेत जानकारी गराए । यदी त्यसलाई पनि समावेश गर्ने हो भने खेलकुदले २ अरव १० करोडको हाराहारीमा वजेट पाएको उनले बताए ।
उनले बजेटको अधिकांशभाग खेलकुदतर्फ विनियोजित भएको भन्दै खेलकुद विकास कार्यक्रम अन्तरगत १५ करोड ८४ लाख ८५ हजार र राष्ट्रिय खेलकुद परिषदतर्फ १ अर्व ४९ करोड २८ लाख ७२ हजार विनियोजन भएको पनि बताए ।
उनले कार्यक्रम सार्वजनिक गर्ने क्रममा ४ प अर्थात पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता र प्रोत्साहनलाई आधार मानेर कार्यक्रम र वजेट विनियोजन गरेको बताए । पूर्वाधार बिकासलाई क्रमिक रुपमा निर्माण गर्ने अवधारणा अनुरुप कार्ययोजना बनाईएको बताए । पूर्वाधार तर्फ त्रिविविमा एक अन्तराष्ट्रिय स्तरको ५ हजार दर्शक क्षमताको कभर्ड हल निर्माण गर्ने जसको लागि त्रिविविसंग सम्झौताभई सकेको र त्यसको लागि ५० लाख विनियोजन भई सकेको जनाए । उनले डिपिआर बनाई कार्य सुरु भई सकेको जनाए ।
बैशाखमा गएको भुकम्पका कारण क्षती भएको राष्ट्रिय खेलकुद परिषद परिसरको पुननिर्माणको लागि १० करोड विनियोजन भएको र त्यसको लागि नयाँ भवन बनाईने समेत जानकारी गराए । त्यस्तै निर्माणतर्फ फुटबलको विकासको लागिच्यासल खेल मैदानलाई विकास गर्न ४ करोड, क्रिकेटको विकास गर्न ९ क्षेत्र मध्ये काठमाण्डौ बाहेक अन्य क्षेत्रमा अन्तराष्ट्रि मैदान निर्माण गर्ने तर यसलाई मल्टीयअर आधारमा अघि बढाईने छ । त्यस्तै एक खेल एक एकेडेमी निमार्ण गर्ने उद्धेश्य अनुरुप जग्गा उपलब्ध भएमा एकेडेमी निर्माणलाई अगाडी बढाईने, २÷४ बर्ष भित्र जग्गा उपलब्ध गराईएमा बास्केटबल, ह्याण्डबल, भलिबल, ब्याडमिन्टन, उसु र बक्सिङ्गको कभर्डहल सहितको एकेडेमी निर्माण गर्ने योजना रहेकोछ । एक निर्वाचन क्षेत्र एक कभर्डहल निर्माणलाई अघि बढाईने  पनि जनाइएको छ । क्यानको सहभागितामा एनपिएललाई अघि बढाउन सिडमनी छुट्याईसकेको समेत जानकारी गराईयो ।
स्कुल टु ओलम्पिक भन्ने नारालाई सार्थक बनाउनको लागि प्रत्येक निर्वाचन क्षेत्रमा युवा खेलकुद स्वंसेवकलाई प्रशिक्षकलाई यसै बर्ष नियुक्त गर्ने तर्फ अग्रसर भईसकेको जानकारी गराए ।
खेलाडी प्रशिक्षकलाई प्रोत्साहनगर्नका लागि १ करोड स्विकृत भइसकेको र यसै बर्ष देखि पत्रकारहरुलाई पनि खेलकुदविकासमा योगदान गरे बापत खेलकुद पत्रकारलाई पनि पुरस्कृत गरिने भएको छ । त्यसको लागि कार्यविधी निर्माण चरणमा पुगिसकेको बताए ।
कार्यक्रमको योजना कार्यान्वयनको लागि परिषद र मन्त्रालयले साथ साथै अनुगमन गर्नेछ । यो बर्ष बजेट कार्यान्वयन बर्ष भएकोले प्रत्येक कार्यको कार्यान्वयन गर्न मन्त्रालयले अनुगमन योजना बनाइ रहेको समेत सह–सचिव पौडेलले जानकारी गराए ।