वादोरियो टोलीको बिदाइ

Manoj Shiama
19 August, 2015 1:16 pm

karatee
भारतको गुजरातमा हुने छैटौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली वादोरियो कराते टोलीलाई मंगलबार बिदाइ गरियो । टोलीलाई सफलताको शुभकामनासहित राष्ट्रिय झण्डा हस्तान्तरण गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिदाइ गरे ।
अगष्ट २२ र २३ तारिखमा हुने प्रतियोगिताको पुरुष ४५–५० केजीमा पुरुषोत्तम पोखरेल, ५५–६० केजीमा मोहन तामाङ, ६०–६५ केजीमा मनोज राजवंशी, ५०–५५ केजीमा निरज गौतम, ६५–७० केजी लक्ष्मण तामाङ तथा खुला तौलसमूहमा सुदीप थारुले प्रतिस्पर्धा गर्नेछन् । पुरुषको एकल कातामा मनोज लामाले प्रदर्शन गर्नेछन् ।
महिलाको ५०–५५ केजीमा रोएकता सिंह, ४५–५० केजीमा अन्जु मगर तथा ४०–४५ केजीमा याङ डोल्मा शेर्पाले भाग लिने छन् ।
नेपाली टोलीको नेतृत्व नेपाल कराते महासंघका महासचिव, दक्षिण एसियाली वादोरियो कराते महासंघका अध्यक्ष एवं वादोरियोका प्रमुख प्रशिक्षक हरिशरण केसीले गर्नेछन् । निर्णायकमा कृष्णबहादुर कुँवर र अमरजंग शाह रहेका छन् ।
टोली बिहीबार गुजरात जाँदैछ । अघिल्लो संस्करणमा नेपाल ९ स्वर्ण, ६ रजत र २ कांस्यसहित टिम च्याम्पियन बनेको थियो ।