मलेसियामा नेपाली खेलाडीको सफलता

Manoj Shiama
23 August, 2015 9:16 pm

taek

चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी काजल श्रेष्ठ र अस्मिता खड्काले स्वर्ण जितेका छन् ।
मलेसियाको सारावाकस्थित कुचिङमा आइतबार सम्पन्न दुईदिने प्रतियोगिताको सिनियर महिला ४६ केजीमुनि सेमिफाइनलमा काजलले ब्रुनइकी सिटी जावानाह विन्ती मोहम्मद जिनलाई १८–१ तथा फाइनलमा इन्डोनेसियाकी रातु नातास्याललाई १४–१२ ले पराजित गर्दै स्वर्ण जितेको टिम प्रशिक्षक कुमार लामा घिसिङले जनाएका छन् ।

त्यस्तै सिनियर महिलाकै ४९ केजीमुनि अस्मिताले सेमिफाइनलमा थाइल्यान्डकी पिलाडस्पोर्नीलाई १५–५ तथा फाइनलमा हङकङकी कोङ विङ येनलाई १३–१ ले पछि पार्दै पहिलो स्थान हात पारेकी थिइन् । जुनियर पुरुषको ६३ केजीमुनि सुबोध खड्काले रजत जिते । क्वाटरफाइनलमा मलेसिया र सेमिफाइनलमा फिलिपिन्सका खेलाडीलाई पाखा लगाएका सुबोध फाइनलमा थाइल्यान्डका खेलाडीसंग चुके । सिनियर पुरुषको ६३ केजीमाथि विकेश विडारी क्वाटरफाइनलमा ब्रुनइका खेलाडीसंग पराजित भएपछि पदकविहीन बने । पेयर पुम्सेमा अस्मिता र सुबोधले कुल १० अंकमा ६.४३ अंक हासिल गर्दै कांस्य जितेको बताइएको छ । सिनियर महिलातर्फ काजल श्रेष्ठ उत्कृष्ट खेलाडी समेत घोषित भइन् । २५ निर्णायक मध्ये ३ जना उत्कृष्ट घोषित गरिएकोमा नेपालका नोर्बु लामा पनि एक रहे ।