ह्यान्डबलमा तेजको निरन्तरता

Manoj Shiama
28 September, 2015 7:18 am

tej gurung1
नेपाल ह्यान्डबल संघको तेश्रो अधिवेशन तथा निर्वाचनले अघिल्ला कार्यसमितिका अध्यक्ष तेजबहादुर गुरुङलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनले गुरुङको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमितिको समेत चयन ग¥यो ।
वरिष्ठ उपाध्यक्षमा रामकृष्ण केसी, महासचिवमा सन्देशकुमार रेग्मी तथा तथा कोषाध्यक्षामा मीठाराम अधिकारी निर्वारोध निर्वाचित भए । उपाध्यक्षमा ३५ मतसाथ जय शर्मा, ३३ मतसाथ जीवन बस्नेत र ३० मतसाथ भीम केसी निर्वाचित भए । पराजित उपाध्यक्षका उम्मेदवार राकेश राईले २५ र राजुविक्रम थापाले १५ मत प्राप्त गरेका थिए ।
दुई सचिवका लागि तीनको उम्मेदवारी परेकोमा ३५ मत ल्याएका केशव पाठक र ३१ मत हासिल गरेका रत्नज्योति मानन्धर विजयी भए । झीनो अन्तरले पराजित सचिवका अर्का उम्मेदवार दामोदर भट्टराई (बद्री) ले ३० मत प्राप्त गरे ।
सदस्यमा रविन धोभडेल, प्रकाश सुनुवार, नरेन्द्रराज जोशी, पीताम्बर आचार्य, विनोद खुलाल, अभयकुमार बस्नेत, विराटमान वज्राचार्य र ज्ञानेन्द्र गजुरेल निर्वारोध निर्वाचित भए । २ जनाले उम्मेवारी फिर्ता लिएपछि सदस्य पद निर्वारोध भएको नवनिर्वाचित महासचिव रेग्मीले जानकारी गराए ।
पोखरामा भएको साधारणसभामा केन्द्रबाट २०, विभिन्न ३० जिल्लाबाट १ का दरले ३० तथा प्राविधिक समितिबाट २ गरी जम्मा ५२ प्रतिनिधिको उपस्थिति रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत संघ संस्था समन्वय शाखाका प्रशासकीय अधिकृत एवं निर्वाचन अधिकृत ओम न्यौपानेले जनाएका छन् ।यसअघि साधारणसभाको राखेप सदस्य–सचिव केशवकुमार विष्टले उद्घाटन गरेका थिए ।