राखेपद्वारा खेलाडी पुरस्कृत गर्न सिफारिस

Manoj Shiama
28 October, 2015 7:36 pm

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यु– १९ क्रिकेट विश्व कपका लागि छनोट हुन सफल नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीलाई नगद पुरस्कारबाट पुरस्कृत गर्न बुधबार सिफारिस गरेको छ ।
१४ खेलाडीसहित १७ सदस्यीय टोलीलाई नगद पुरस्कारबाट पुरस्कृत गर्न युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको राखेप सदस्य–सचिव केशवकुमार विष्टले जानकारी गराए ।
मलेसियामा अक्टोबर १३ देखि २३ तारिखसम्म भएको आईसीसी यु–१९ क्रिकेट वल्र्ड कप क्वालिफाइङमा पहिलो हुँदै नेपाल बंगलादेशमा अर्को वर्षको जनवरीमा हुने यु– १९ क्रिकेट विश्व कपका लागि छनोट भएको थियो ।
खेलाडीहरुमा कप्तान राजु रिजाल, उप–कप्तान अरिफ शेख, सुनील धमला, सन्दिप सुनार, राजवीर सिंह, दीपेन्द्रसिंह ऐरी, सौरभ खनाल, प्रेम तामाङ, सुशील कँडेल, दीपेश श्रेष्ठ, ललितनारायण राजवंशी, कुशल भुर्तेल, शंकर राना तथा योगेन्द्र कार्की रहेका छन् । प्रशिक्षकमा जगत टमाटा, व्यवस्थापकमा धीरेन्द्र साउद र फिजियोमा दिनेश भट्ट छन् ।
खेलाडीलाई जनही २ लाख तथा प्रशिक्षक, व्यवस्थापक र फिजियोलाई १लाखका दरले पुरस्कृत गर्न सिफारिस गरिएको सदस्य–सचिव विष्टले जानकारी दिए ।
त्यस्तै, गत जुन २८ तारिखमा फ्रान्समा भएको ८२ किलोमिटर दूरीको अल्ट्रा दौड प्रतियोगितामा पहिलो भएकी धाविका मीरा राईलाई पनि नगद पुरस्कार प्रदान गर्न बुधबारै सिफारिस गरिएको सदस्य–सचिव विष्टले जनाएका छन् । मीरालाई सिफारिस गरिएको पुरस्कार राशी १ लाख रुपैयाँ रहेको छ ।