हिलेपानी व्याकुल माइला गोल्डकप च्याम्पियन

Manoj Shiama
3 November, 2015 10:10 pm

bayakul mahila goldcup
व्याकुल माइला गोल्डकपको पाँचौं संस्करणको उपाधि हिलेपानी फुटबल क्लब ओखलढुंगाले हात पारेको छ ।  मंगलबार भएको फाइनल खेलमा फूलबारी युवा क्लब जाक्मालाई ४–० गोलअन्तरले पराजित गरी हिलेपानीले उपाधि जितेको हो । हिलेपानीका लागि सुशान्त श्रेष्ठ तथा मोहन गुरुङले १÷१ र राजु राईले २ गोल गरेका थिए ।
त्रिवेणी युवा समूह सिन्धुली तेस्रो स्थानमा आएको आयोजक सदस्य आश्रचन राईले जानकारी दिए । तेस्रो स्थानको दाबेदार अर्को टोली सप्तरंगी युवा समूह अनुशासनको कारबाहीमा परेपछि त्रिवेणी स्वतः तेस्रो भएको हो ।
उदयपुर खेलकुद विकास समितिले मर्यादित तथा अनुशासित टिमका रूपमा१० हजार राशिको दिल–कर्ण बेस्ट टिम अवार्ड प्राप्त गरेको छ । उपाधि विजेताले चाँदीको कपसहित नगद ५० हजार, दोस्रोले ३० हजारका साथ चाँदीकै कप र तेस्रोले २० हजारका साथ चाँदीको कप प्राप्त गरेका छन् ।
फाइनल प्रवेशका लागि हिलेपानीले त्रिवेणी युवा समूहलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । फूलबारीले सप्तरंगी युवा समूहलाई १–० गोलअन्तरले पाखा लगाएको थियो ।
प्रतियोगिता ९ कात्तिकमा  राष्ट्रिय गीतका सर्जक व्याकुल माइलाको जन्मथलो ओखलढुंगाको थाक्ले–८, सोक्मटारमा सुरु भएको थियो । ‘राष्ट्रिय एकता, अखण्डता र स्वाधीनताको मूल्यमा अधिकारको खोजी नगरौं, जातीय, क्षेत्रीय र सामाजिक सद्भाव कायम गरी राष्ट्र निर्माण गरौं !’ भन्ने मूल नारा एवम् खेलकुदको माध्यमबाट विकासको अभियान भन्ने आदर्शका साथ सञ्चालित प्रतियोगितामा ओखलढुंगा, खोटाङ, सिन्धुली र उदयपुर जिल्लाका गरी १७ टिमले सहभागिता जनाएको गोल्डकप मूल समारोह समितिले जनाएको छ ।
प्रतियोगिताको चौथौं संस्करणको उपाधि सुनकोसी युवा समूहले जितेको थियो । यसपटक उक्त टोलीले पहिलो चरणमै हार बेहोर्नुपरेको थियो ।