एनओसी र एनआरएनएबीच सम्झौता
नेपाली खेल क्षेत्रको विकासका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) र गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच आइतबार सम्झौता भएको छ । नेपाल ओलाम्पीक कमिटिको भवन सातदोबाटोमा भएको कार्यक्रममा खेल क्षेत्रको विकास गर्न नेपाल ओलाम्पीक कमिटी र गैर आवासिय नेपाली संघ बीच सम्झौता भएको हो । सम्झौतामा एनओसीका तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठ र एनआरएनएका तर्फबाट नवनिर्वाचित अध्यक्ष शेष घलेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।सम्झौता अनुसार अब देखी नेपालमा चलिरहेको ओलाम्पीक अभियानको साझेदारका रुपमा गैर आवासीय नेपाली संघ रहने छ । सो अवसरमा एनआएरएनए स्थापना दिवस अक्टोबर ११ तारिखका दिन ओलाम्पीक कमिटीले विभीन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने जानकारी समेत दिइएको थियो ।
यसैगरी गैर आवासिय नेपाली संघले क्षमतावान निश्चित खेलाडीहरुको बैदेशिक प्रशिक्षण र खेलकुद प्रतिस्पर्धामा आवश्यक सामाग्री उपलब्ध गराउने, दक्षिण एसियाली, एसियाली र ओलाम्पीक खेलकुदमा सहभागी खेलाडीहरुलाई छात्रवृत्ति प्रदान गर्ने, नेपाली खेलकुद क्षेत्रको भौतिक पुर्वाधार निर्माणका लागि दाता तथा बहुराष्ट्रिय कम्पनीहरुको खोजी गर्ने सहमति भएको छ ।
कार्यक्रममा नेपाल ओलाम्पीक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एनआएरएनएको सहयोगले नेपाली खेलाडीहरुलाई ढाडस दिने भन्दै लक्ष्य प्राप्तीमा सहयोग मिल्ने बताए । खेल क्षेत्र मार्फत राष्ट्रको शिर उचो बनाउने आफुहरुको अभियानमा गैर आवासिय नेपाली संघले साथ दिएकोले आगामी दिनमा अन्तराष्ट्रिय जगतमा राम्रो परिणाम ल्याउने बताए । अध्यक्ष श्रेष्ठले एनआरएनएसंगको सहकार्यले संसारभर रहेका नेपालीहरुबीच सौहार्दता बढाउनुका साथै सांस्कृतिक आदान प्रदानमा समेत योगदान पुग्ने धारणा राखे । नेपालीहरुलाई एकताको सुत्रमा बाँध्ने एक मात्र क्षेत्र खेलकुद रहेको उनको भनाइ थियो । कार्यक्रममा एनआरएनएका अध्यक्ष शेष घलेलाई नेपाल ओलाम्पीक कमिटीको मानार्थ सदस्यता प्रदान गरिएको थियो ।