टेनिस टोली दोहा प्रस्थान

e

कतार एसियाली जुनियर टेनिस टिम कप– २०१५ मा सहभागी हुन २ पुरुष खेलाडीसहित ३ सदस्यीय नेपाली लनटेनिस टोली मंगलबार कतारको दोहा प्रस्थान गरेको छ ।डिसेम्बर २३ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा संरक्षकभूषण वज्राचार्य र प्रणव खनालले यु–१४ उमेरसमूहमा प्रतिस्पर्धा गर्ने छन् । टिममा संरक्षक र प्रणवले छुट्टै सिंगल्स खेल्नेछन् । दुवै मिलेर डबल्समा पनि प्रतिस्पर्धा गर्नेछन् ।
टिम प्रशिक्षकमा सूर्यभूषण वज्राचार्य रहेका छन् । प्रशिक्षक वज्राचार्यका अनुसार प्रतियोगितामा नेपालसहित विभिन्न ८ राष्ट्रको सहभागिता रहनेछ ।गत वर्ष दोहामै भएको उक्त प्रतियोगतामा नेपालले कांस्य पदक जितेको थियो । अहिले सहभागी हुन लागेका तीनै जना पदक जित्ने टोलीका सदस्य हुन् । त्यसबेला सहभागी बाँकी खेलाडीमा रेन्जन लामा र संरक्षकका भाइ सम्यक हुन् । गत वर्षको प्रतियोगितामा १० राष्ट्र सहभागी थिए ।
‘यस पाली हाम्रो लक्ष्य उपाधि नै जित्नु हो । गत वर्ष पनि हामीले प्रतिद्वन्दीलाई कडा टक्कर दिएका    थियौं ।’– प्रशिक्षक वज्राचार्यले भने– ‘हामी सेमिफाइनलमा टाइब्रेकरमा चुकेका थियौं । त्यो बेला भन्दा अहिलो खेलाडीको स्तरमा पनि बृद्धि भएको छ ।’
टोलीलाई सफलताको शुभकामना दिदै अखिल नेपाल लनटेनिस संघका महासचिव मनोहरदास मुलले सातदोबाटोमा बिदाइ गरे ।

Comment