पुरुष कुस्ती खेलाडी छानिए

Manoj Shiama
30 December, 2015 8:58 am

kusti 1e
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पुरुष कुस्ती खेलाडी मंगलबार छनोट भएका छन् ।१२ औं दक्षिण एसियाली खेलकुद तयारी कार्यकारी समितिद्वारा आयोजित राष्ट्रव्यापी खुला कुस्ती छनोट प्रतियोगिताको दोश्रो दिनआ–आफ्नो स्पर्धामा शीर्ष स्थान हात पार्ने ७ पुरुष खेलाडी छनोट भए । १ पुरुष खेलाडी अघिल्लो दिन नै छनोट भइसकेका छन् । १२५ केजीमा नेपाल आर्मीका सत्येन्द्रप्रसाद यादव प्रतिद्वन्द्वी नपाएपछि स्वतः छनोट भएका थिए । महिलातर्फ पनि ८ खेलाडी पहिलो दिन नै छनोट भइसकेका छन् ।
पुरुषको ५७ केजीमा पर्साका जयमंगल यादव पहिलो भए । उनले आर्मीका लोचन महतोलाई पराजित गरे । ६१ केजीमा बाराका रामबाबु यादवले बाराकै प्रमालाल यादवलाई हराउदै पहिलो भए । ६५ केजीमा पर्साका सरोज यादव पहिलो भए । उनले फाइनलमा सिरहाका ज्ञानकुमार यादवलाई पाखा लगाए । ७० केजीमा आर्मीका वैजनाथ यादव छानिए । फाइनलमा वैजनाथले गोर्खाका नारायण थापा मगरको चुनौती समाप्त पारे ।
त्यस्तै ७४ केजीमा आर्मीका भेखराज पण्डित पहिलो भए । फाइनलमा उनले बाराका सन्देश पण्डितलाई निराश पारे । बाँकेका रमेश गोतामेलाई निर्णायक भिडन्तमा पन्छ्याउदै १० औं सागका रजतधारी बुनीलाल राउत अहिर ८६ केजीमा छनोट हुन सफल भए । ९७ केजीमा पर्साका सुमिर साह पहिलो भए । फाइनलमा उनले सिरहाका जितेन्द्रप्रसाद यादवलाई हराए ।