दीपकलाई अखिल नेपाल स्नुकर उपाधी
दीपक मगर अखिल नेपाल खुल्ला स्नुकर प्रतियोगिता २०७२ को विजेता बनेका छन् । न्यू दरवार स्क्वायर स्नुकर क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा दीपकले विकाश श्रेष्ठलाई वेष्ट अफ ११ को खेलमा ६–३ फ्रेमले पराजित गर्दै उपाधीको हकदार बने ।
उनले पहिलो फ्रेममा विकासलाई ९४–१० अंकले पछि पारेका थिए । तर दोश्रो फ्रेममा उनी विकाससंग ३२–६८ अंकमा रोकिन पुगे । तेश्रो फ्रेमलाई ६२–५४ अंकले आफ्नो पक्षमा पारेता पनि चौथो फ्रेममा उनी पुन विकास संग ३२–८५ अंकले पछि परे । दीपकले पाँचौं र छैटौं फ्रेम ८५–३५ र ९७–७० ले जित्दै खेललाई ४–२ को स्थितीमा पु¥याए । सातौ फ्रेममा उनी ५६–८४ले पछि परेता पनि उनले आफुलाई पूर्ण रुपमा सम्हाल्दै खेललाई आफ्नो पक्षमा पार्न सफल भए । उनले आठौं र नवौं फ्रेममा ८३–४५, १०७–२५ अंकको जित निकाल्दै उपाधी कब्जा गरे । जितका साथै उनले नगद ५० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । त्यस्तै दोश्रो स्थानमा चित्त बुझाउन बाध्य भएका विकास श्रेष्ठले नगद २५ हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगिता भर सर्वाधिक अंकले ब्रेक गर्न सफल भएका सराङ्ग रानाले नगद ८ हजारका साथै ट्रफि र प्रमाण पत्र प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पुरस्कार वितरण गरेका थिए । दश दिन सम्म चलेको प्रतियोगितामा नेपालका विभिन्न भागबाट राष्ट्रिय च्याम्पियन सहित १२४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।