दिपेश र नङशललाई उपाधि
रत्नजित तामाङको लामो बर्चस्व तोड्दै दिपेश धामीले चौथो अन्नपूर्ण कर्पोरेट ब्याडन्टिन प्रतियोगिताको उपाधि जितेका
छन् । दिपेशले शनिबार भएको खुल्लातर्फ पुरुष एकलको फाइनलमा आफ्नै क्लब त्रिभुवन आर्मीका उनै रत्नजितलाई हराएका हुन् । सिनियर ब्याडमिन्टनमा दिपेशले जितेको यो पहिलो उपाधि हो भने रत्नजित चार वर्षपछि पहिलो पटक सिनियर
ब्याडमिन्टन प्रतियोगिता(छनोट प्रतियोगिताबाहेक)को उपाधि जित्न असफल भए। दिपेशले रत्नजितविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितेका हुन् । पहिलो सेट ४–२१ ले हारेको दिपेशले त्यसपछि लगातार दुई सेट २१–१४, २१–१९ ले जितेका थिए । जुनियर राष्ट्रिय च्याम्पियन भइसकेका १९ वर्षिय दिपेश सिनियरतर्फ यस अघि छैटौं राष्ट्रिय खेलकुदमा फाइनलसम्म पुगेपनि उपाधि जित्न सफल भएका थिएनन् । ‘ लामो समयदेखीको प्रतिक्षा पुरा भएको छ । आज दिन कहिल्यै विर्सने छैन’, दिपेशले भने । खेल जिते लगत्तै दिपेशले भावविह्वल खुसियाली मनाएका थिए । रत्नजित अन्तिम पटक चार वर्ष अघि सातौं कृष्णमोहन ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा पशुपती पनेरुसँग पराजित भएका थिए । ‘ बढी आत्मविश्वासी भएँ । खेल जितिहालिन्छ नि भन्ने भयो । आफ्नै लापरबाहीले खेल
हारें’ साविक विजेता समेत रहेका रत्नजितको हारपछि प्रतिक्रिया थियो । उनले दिपेशले क्षमता अनुसार पुर्ण प्रदर्शन गरेको भन्दैं अब आफुमाथी चुनौती थपिएको स्विकार गरे । जितसँगैं दिपेशले २४ क्यारेटको एक तोला सुनको स्वर्ण पदक जिते । खुल्लातर्फ महिला एकलको उपाधि रत्नजितकी दिदी नङसलले उपाधि जितिन् । त्रिभुवन आर्मी क्लबमा आवद्ध उनले फाइनलमा शसस्त्र प्रहरीको
एपिएफ क्लबकी शिक्षा श्रेष्ठको चुनौती २१–१५, २१–१० ले पन्छाइन् । केही वर्षयता राष्ट्रिय ब्याडमिन्टनमा तामाङ दिदी भाईको एकछत्र बर्चस्व रहेको थियो । नङशल र रत्नजितकी दिदी सरादेवी पनि पुर्व राष्ट्रिय च्याम्पियन हुन् । महिला एकलमा नङशल र सरादेवी नै निर्विकल्पजस्तै देखिदैं आएका छन् ।
सरादेवी यस प्रतियोगितामा सहभागि थिइनन् । ‘खुसी लागेको छ । तर भाईले जितेको थियो भने अझ बढी खुसी हुँन्थे’, नङशलले भनिन् । यी दुई दिदी भाई एउटै प्रतियोगिताको एकल स्पर्धामा हालसम्म विजेता बन्न सकेका छैनन् । ‘ भाईसँगैं उपाधि जित्ने धोको अधुरै रह्यो’,नङशलले भनिन् । सरा र रत्नजितले भने धेरै पटक यो अवसर प्राप्त गरि सकेका छन् । खुल्लातर्फ पुरुष युगलको उपाधि
एपिएफ क्लबका विजित थापा मगर र विकाश श्रेष्ठको जोडीले जित्यो । फाइनलमा यो जोडीले आफ्नै क्लबका सुदिप सेढाई र साजनकृष्ण ताम्राकारले जोडिलाई २१–१८, २१–१७ ले हरायो । प्रतियोगितामा महिला एकल र पुरुष युगल स्पर्धा पहिलो पटक समावेश गरिएको हो । यस्तै एक्ज्युकेटिभ एकलतर्फको उपाधि कास्की फाइनान्सका विशाल खड्काले जिते । उनले फाइनलमा सुपर लामिकोट्सका अभिषेक बोसलाई २१–११, २१–१९ ले हराए । विशाल लगातार तेस्रो पटक विजेता बनेका हुन् । उनले सम्भु कुमार श्रेष्ठसँग मिलेर एक्ज्युकेटिभ युगलको पनि उपाधि जिते । फाइनलमा यो जोडिले जुनतारा इनभेस्टमेन्टका उमेश केसी र ग्रिन डेभलपमेन्टका विबेक जिसीको जोडिलाई
२१–११, २१–१३ ले हरायो । कर्पोरेट युगलको उपाधि लाइभ फर्मासेट्युकल्सका बिरेन्द्र बस्नेत र एसईका श्याम बहादुर पराजुलीको जोडिले जित्यो । फाइनलमा कान्तिपुर पब्लिकेसन्सका महेश स्वार र अटायर पब्लिकेसन्सका निरज शाक्यको जोडिलाई २१–१८, २१–१३ ले हराएर श्याम र बिरेन्द्रको जोडि पहिलो भएको हो । एकलतर्फ विजेताले एक तोला र युगलतर्फको विजेताले आधाआधा तोला सुनको मेडल प्राप्त गरे । पाँच दिनसम्म सन्चालन भएको प्रतियोगितामा देशभरका कर्पोरेट लगायत विभिन्न संस्थाबाट तीन सय भन्दा बढी खेलाडिको
सहभागिता रहेको थियो ।