सागमा पदक जित्ने बक्सर सम्मानित

Manoj Shiama
17 March, 2016 8:50 pm

boxingge

भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकलाई बिहीबार सम्मान गरिएको छ । नेपाल बक्सिङ संघले उनीहरुलाई नगदसहित एक कार्यक्रमबीच सम्मान ग¥यो । साथै सहभागी अन्य खेलाडी र टिम व्यवस्थापक पनि सोही अवसरमा सम्मानित भए । भारतको सिलोङमा गत फेब्रुअरीमा भएको बक्सिङमा एक पुरुष र दुई महिला गरी ३ खेलाडीले पदक जितेका थिए । तीनै खेलाडीले कांस्य जिते ।पुरुषको ६४ केजीमा दीपक श्रेष्ठ तथा महिलाको ५१ केजीमा मीनु गुरुङ र ६० केजीमा सरस्वती रानाले कांस्य हात पारेका थिए । दीपक र सरस्वतीले अफ्गानिस्तान तथा मीनुले पाकिस्तानी खेलाडीलाई हराएका थिए । उनीहरुलाई जनही २० हजार र सम्मान पत्र प्रदान गरियो ।
त्यस्तै सम्मानित हुने प्रशिक्षकमा बक्सिङ मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, प्रवीण तुलाधर, प्रकाश थापा मगर र निमा तामाङ रहेका छन् । प्रचण्डले ७ हजार ५ सय र बाँकीले समान ५–५ हजार नगदसहित सम्मान पत्र प्राप्त गरे ।बक्सिङमा नेपालले ७ पुरुष र ३ महिला गरी १० खेलाडी सहभागी गराएको थियो । सहभागी पुरुषको ४९ केजीमा तेजबहादुर देउवा, ५२ केजीमा प्रेम चौधरी, ५६ केजीमा दिनेश श्रेष्ठ, ६० केजीमा दानबहादुर दर्लामी, ६९ केजीमा विकास लामा तथा ७५ केजीमा दीपेश लामालाई सम्मान पत्रबाट सम्मान गरियो । महिलातर्फ ७५ केजीमा सहभागी संगीता सुनार पनि सम्मान पत्रबाट सम्मानित भइन् । सम्मानित हुने टिम व्यवस्थापकमा बक्सिङ संघका सदस्य गौतम सुजाखु छन् ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, बक्सिङ संघका अध्यक्ष राजिव श्रेष्ठ र बक्सिङ संघका मानार्थ आजीवन अध्यक्ष विष्णुगोपालश्रेष्ठले सम्मान गरे ।
कार्यक्रममा सदस्य–सचिव विष्टले नगद राशी भन्दा पनि सम्मान गर्ने भावना जाग्नु नै महत्वपूर्ण भएको बताउदै खेलाडीहरुले कुन पदक जिते भन्दा पनि उनीहरुले कस्ता खेलाडीसंग कसरी प्रदर्शन गरे भन्नेमा ध्यान दिनु आवश्यक रहेको बताए ।
बक्सिङ संघका अध्यक्ष श्रेष्ठले छोटो तयारीमा पनि खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको बताउदै ‘टिम वर्क’ खल्बल्याउन खोज्ने खेलकुदका तत्वसंग सम्बधित सबै होसियार हुने पर्ने बताए । उनले बक्सिङ खेल र खेलाडीको विकास नै आफ्नो मुख्य उद्देश्य भएको र त्यसैमा ध्यान केन्द्रीत गरेको बताए ।काश्य पदक विजेता सरस्वतीले साग खेलको सेमिफाइनलमा बिश्वस्तरीय स्टार सरितादेवीसंग प्रशशनीय प्रदर्शन गरेकी थिइन् । यसैगरी दिनेस श्रेष्ठ बिश्वस्तरीय स्टार शिब थापासंग पराजित भए पछि पदक बिहिन बनेका थिए ।