मायांका र माहिका उपाधि भिडन्तमा

Manoj Shiama
26 April, 2016 10:51 pm

mahika and bibhutie
कमल भण्डारी, जितेन्द्र परियार, रेन्जन लामा र संरक्षकभूषण वज्राचार्य चौथो सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा कमलले दावा शेर्पालाई ६–१ र ६–४, जितेन्द्रले सक्षम कार्कीलाई ६–१ र ६–०, रेन्जनले शक्ति शर्मालाई ६–३ र ६–०तथा संरक्षकले कुमार अधिकारीलाई ६–२, २–६ र ६–१ ले पराजित गरे ।महिला सिंगल्सको उपाधिका लागि जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणा उपाधिका लागि भिड्ने भएका छन् । मायांकाले इरा रावतलाई ०–६, ६–३ र ६–२ तथा माहिकाले विभूति कार्कीलाई ६–४ र ६–१ को सेटमा हराए ।
भेट्रान्स ६५ वर्षमाथि पुरुष सिंगल्समा गौतमलाल प्रधान र दीपक श्रेष्ठ फाइनलमा पुगे । गौतमले चन्द्रमान तुलाधरलाई ८–१ ले पाखा लगाए भने दीपकले भरत रायमाझीबाट वाकओभर पाए ।
भेट्रान्स ३५ वर्षमाथि पुरुष सिंगल्समा राजु गुरुङ, प्रताप मोक्तान, छेवाङ लामा, श्रीराम मगर, कृष्ण मगर, सुकुमान तामाङ, छुवान्जु र महेश श्रेष्ठ क्वाटरफाइनल प्रवेश गरे । सोही स्पर्धाको डबल्समा सोभितमान श्रेष्ठ र चन्द्र शाही, राजु क्षेत्री र राजेश क्षेत्री, राजन पौडेल र नवीन चालिसे तथा मनोज शाह र सुवर्ण धाक्वाको जोडी सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।भेट्रान्स ४५ वर्षमाथि पुरुष सिंगल्समा कृष्णराज घले, सुशील पाण्डे,धर्म शाही, मनोजविक्रम शाह, धरमसिंह लामिछाने, प्रताप मोक्तान, देउनम लामा र आशिष सिग्देलले क्वाटरफाइनल यात्रा तय गरे । भेट्रान्स ५५ वर्षमाथि पुरुष सिंगल्समा मनोज राणा, विजय राजभण्डारी, ध्रुव गुरुङ, ज्ञानेन्द्रमान ताम्राकार, देउनम लामा, पृथ्वी थकाली, छेम्बा डुन्डुप र सुरेन्द्र ढकालले क्वाटरफाइनलमा स्थान पक्का गरे ।
मनोज राणा र छेम्बा डुन्डुप, कर्मा घले र पृथ्वी थकाली, फादर मेथ्यु र प्रेम थापा तथा विष्णु गुरुङ र विजय प्रधानको जोडी भेट्रान्स ५५ वर्षमाथि पुरुष डबल्सको सेमिफाइनलमा पुगेका छन् ।