विशेष खेलकुद यसै महिना
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा विशेष विद्यालयस्तरीय राष्ट्रिय खेलकुद बैशाख ३० गतेदेखि हुने भएको छ । एथलेटिक्सतर्फ प्रतिस्पर्धा हुने खेलकुदमा बहिरा, नेपाल अन्धा कल्याण संघ र शारीरिक अपाङ्गको सहभागिता रहने छ । जम्मा ४४ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईदिन चल्ने प्रतियोगितामा २ सय ७७ खेलाडीले भाग लिने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत मीनकुमार शर्माले जनाएका छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख खर्च हुने बताइएको छ ।