सृजनशील टेबल टेनिस व्यक्तित्व अनिता
Manoj Shiama
23 October, 2021 10:41 am

पछिल्ला केही महिना यता टेबल टेनिस खेलाडी अनिता महर्जन धेरै नै व्यस्त रहिन् । अन्य आम खेलाडीले भन्दा फरक सृजनात्मक सोचाए भएकी उनी एरोबीक्स टेबल टेनिस (युके)को एम्बसडर पार्टनर, प्रमोटर तथा प्रशिक्षक रहेकी छिन् । उनले सञ्चालनमा ल्याएको एनीज पिङपङ क्लब टेबल टेनिसको सर्वोच्च निकाय आइटिटिएफको महिला इम्पावरमेन्टको सुचीमा सुचीकृत भएको छ । यो सायद नेपालीका लागि गर्वको विषय हो । यस अघि उनी २०१९ मा नेसनल हिरो अवार्डमा मनोनयनमा परेकी थिइन् ।
प्रशिक्षण कोर्सको सुरुवात गर्ने क्रममा उनले २०१४ मै उनले लेभल वान कोर्स गरेकी थिइन् । स्वीजरल्यान्डका प्रशिक्षक जर्ज सो समयका उनका प्रशिक्षक थिए । नेपाल एपीएम टेबल टेनिस एकेडेमीले सञ्चालन गरेको क्र्यास कोर्स पुरा गरेकी उनले २०७५ मा एभीएम स्कुल चामती विशेष प्रशिक्षण क्लासमा सहभागिता जनाएकी थिइन् ।
खेलाडीको रूपमा उनको जीवनमा धेरै आरोह अवरोह देखिएको थियो । वि.स २०७१ मा कोरियामा भएको युनिभर्सीयाडमा उनी नेपालको तर्फबाट सहभागी भएकी थिइन् ।

बि.स २०६० मा उनले टेबल टेनिस सङ्घको आयोजनामै भएको प्रतियोगितामा १४ वर्ष मुनीको समूहमा महिलामा कांस्य पदक जितेकी हुन् । यस भन्दा अघि बि.स२०५९ मै भएको दोस्रो मेयर कप अन्त विद्यालय टेबल टेनिस च्याम्पियनसिपमा उनी १४ वर्ष मुनीको समूहमा तेस्रो तथा महिला युगलमा पहिलो भइन् ।
२०६० मा सम्पन्न कृष्ण ध्वज स्मृति टेबल टेनिस च्याम्पियनसिपमा उनी १४ वर्ष मुनीको समूहमा पहिलो, महिला युगलमा पहिलो तथा महिला टिम इभेन्टमा दोस्रो भइन् ।
सोही वर्ष तेस्रो पूर्ण मान स्मृति तथा दोस्रो नवीन सुबेदी स्मृति टेबल टेनिस प्रतियोगिता भएको थियो । सो प्रतियोगितामा उनले महिला युगल र महिला टिम इभेन्टमा स्वर्ण पदक जितिन् ।

टेबल टेनिसमा आरोह अवरोह सहेकी उनी केही समय बोर्डबाट टाढा रहेकी पनि थिइन् । २०६९ मा धनगढीमा भएको ३५ औ राष्ट्रिय च्याम्पियनसिपमा उनी मिश्रित युगलमा दोस्रो भएकी थिइन् । २०७१ मा भएको राष्ट्रिय खुला टेबल टेनिस च्याम्पियनसिपमा उनी आबद्ध एपीएफ टोली दोस्रो भएको थियो ।
२०७२ मा विराटनगरमा भएको ३७ औ राष्ट्रिय टेबल टेनिस च्याम्पियनसिपमा उनको टोली एपीएफ टिम इभेन्टमा दोस्रो भएको थियो । यसको एक वर्ष पछि काठमाडौँमा भएको टेबल टेनिस च्याम्पियनसिपमा पनि उनको टोली उप विजयी भएको थियो । बि.स २०७३ मा भएको सम्झना कप टेबल टेनिस च्याम्पियनसिपमा उनी तेस्रो हुन सफल भइन् ।
विराटनगरमा भएको सातौँ राष्ट्रिय खेलकुदमा उनी सहितको एपीएफ टोली दोस्रो भयो भने दाङमा भएको आठौँ राष्ट्रिय खेलकुदमा तथा रुपन्देही जिल्ला सङ्घले आयोजना गरेको प्रतियोगितामा एपीएफ टोली उप विजयी भयो । २०७६ मा भएको तेस्रो सम्झना कपमा पनि उनी सहितको एपीएफ टोली उप विजयी भएको थियो ।
विभिन्न विद्यालयमा समेत प्रशिक्षकको भूमिका निर्वाह गरेकी उनी अहिले खेलकुदको अलावा अन्य सामाजिक क्रियाकलापमा संलग्न रहेकी छिन् । उनको सृजनशीलता, उनको मेहनत र उनको सक्रियताले सायद टेबल टेनिसमा केही आयाम थपिने छ । एनीज पिङपङ क्लबका केही अवधारणाले अबका केही समयमा यसलाई माथिल्लो उचाइमा लैजान सक्ने सम्भावना प्रबल छ ।